भोटेकोशी बाढीले अलपत्र नेपाली व्यवसायीलाई खासातर्फबाट ल्याइयो
चिनको तिब्बतमा हिमताल विष्फोटबाट भोटेकोशीमा आएको बाढीले रसुवागढी नाकास्थित मितेरी पुलसमेत बगाएपछि चीनतर्फ नै अलपत्र परेका २ सय ३ जना नेपालीलाई बुधबार सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै नेपाल ल्याइएको छ । चीनको विदेश विभागले उनीहरूलाई केरुङ हुँदै तातोपानी मितेरी पुलमा ल्याएर सिन्धुपाल्चोक प्रशासनलाई जिम्मा लगाएको हो ।
रोजगारीका सिलसिलामा गएकाहरू तथा सवारी चालकलगायत अलपत्र नेपालीलाई बाढीपछि केरुङमा राखिएको थियो । उनीहरूलाई चिनियाँ सुरक्षाकर्मीले २० वटा गाडीमा केरुङबाट तातोपानी नाकासम्म ल्याइदिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल बताउँछन् । उनीहरूलाई खाने र काठमाडौंसम्म पुर्याउने जिम्मा बाह्रबिसे नगरपालिका, भोटेकोशी गाउँपालिका र अरनिको यातायातले मिलेर लिएका छन् ।
२४ असारमा भोटेकोशीमा आएको बाढीपछि चीनतर्फ अलपत्र ७२ जना कन्टेनर चालकलगायतका नेपालीलाई चीनले नै उद्धार गरेर केरुङ लगेको थियो । उनीहरूलाई नेपालतर्फ जिम्मा लगाउनुअघिसम्म खानेबस्नेलगायतका सुविधा चीनले नै दिएको प्रजिअ पौडेलको भनाइ छ । बाढीका दिन उनीहरूमध्ये कतिपय चालकले कन्टेनरको छतमा चढेर ज्यान बचाएका थिए ।
गृहमन्त्री रमेश लेखकले केरुङमा अलपत्र परेकालाई नेपाल ल्याउनका लागि समन्वय गर्न तिब्बतको ल्हासास्थित नेपाली वाणिज्य दूतावासलाई निर्देशन दिएका थिए । ल्हासास्थित वाणिज्यदूत लक्ष्मी निरौलाले चिनियाँ अधिकारीसँग समन्वय गर्दै आएका थिए । नेपाल सरकारको अनुरोधमा उनीहरूलाई तातोपानी नाकासम्म ल्याउने सहमति भएको थियो ।




