कञ्चनपुरमा सबै छाउगोठ भत्काउन निर्देशन
कृष्णपुर नगरपालिका–१, निगाली टोलमा महिनावारीका समयमा छाउगोठमा बसिरहेकी २८ वर्षीया कमला दमाईंको सर्पदंशबाट निधन भएपछि कञ्चनपुरका नौवटै स्थानीय तहमा छाउगोठ भत्काउनका लागि विशेष अभियान सञ्चालन हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालयले स्थानीय तहलाई छाउगोठ भत्काउनका लागि पत्राचार गरेको हो । “छाउगोठ भत्काई परम्परागत रुपमा चलिरहेको कु–प्रथा उन्मूलन गर्न पालिकाबाट आवश्यक निर्णय गरी कार्यान्वयन गर्न अभियान सञ्चालन गरिएको छ”, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।
पत्रमा सामाजिक कु–प्रथा अन्त्य गर्न छाउगोठ भत्काउने अभियान सञ्चालन गर्न गराउन अनुरोध गरिएको छ ।
तीन दिनअघि कृष्णपुर नगरपालिका–१, निगाली टोलमा महिनावारीका समयमा छाउगोठमा बसिरहेकी २८ वर्षीया कमला दमाईंको सर्पदंशबाट निधन भएपछि जिल्ला प्रशासन कार्यालयले छाउगोठ भत्काउनका लागि विशेष अभियान सञ्चालन गर्न निर्देशन दिएको हो ।




