स्पेन मानव तस्करी प्रकरण : छानविन गर्न गृहमन्त्रीले दिए निर्देशन

मूलखबर संवाददाता
काठमाडौं, ३० असार ।

प्रधानमन्त्री के पी ओली सहभागि भएको स्पेन मानव तस्करी प्रकरणबारे छानवीन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिएका छन्।

सोमबार गृह मन्त्रालयमा गृहसचिव गोकर्णमणि दुवाडी र आइजिपी थापासँगको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जाँदा भिजिट भिसाको प्रयोग गरी गएकाहरूमाथि छानबिन गर्न मन्त्री लेखकले निर्देशन दिएको सचिवालयले जनाएको छ।

स्पेन भ्रमणमा सरकारी प्रतिनिधि मण्डलबाहेकको टोली गएको विषय के होरु, अरूहरू कुन संस्थामार्फत कसरी गएरु, भिसा लगायतका प्रक्रिया तथा प्रबन्ध कसले गर्‍योरु, कसको समन्वयमा गएरु भन्ने विषयमा छानबिन गर्न निर्देशन दिएका हुन्।

केन्द्रीय अनुसन्धान ब्युरो र मानब बेचबिखन अनुसन्धान ब्युरोले यस घटनाको छानबिन तथा अनुसन्धान गर्ने भएको हो।

यसमा कोही दोषी देखिए कारबाहीसमेत गरिने गृह मन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओली असार १४ गते स्पेन भ्रमणमा गएका थिए। उनीसहितको प्रतिनिधिमण्डल असार २० गते फर्किएका थिए।