काभ्रेको महाभारत गाउँपालिकाभरी ६ महिनाभित्र फाइबर इन्टरनेट जडान गरिने

मूलखबर संवाददाता
काभ्रे, २१ असार

काभ्रे जिल्लाकाे विकट क्षेत्रकाे रूपमा परिचित महाभारत गाउँपालिका अहिले विकासका पुर्वाधारसहितकाे गाउँपालिका बन्ने दाैडमा छ । शुन्य बेरूजु भएको स्थानिय तहमा देशभरिकै पहिलाे बन्न सफल यस गाउँपालिकाले अब सबै बस्तीमा फाइबर इन्टरनेट पुर्याउने भएको छ ।

गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले अबको छ महिनाभित्र गाउँ पालिकाका सबै वडाका मुख्य वस्तिमा इन्टरनेट सेवा पुर्याउन गाउँपालिका र सजिलो नेटवर्क प्रालिबीच सम्झौता भएको जानकारी दिए ।

उनका अनुसार अबको ६ महिना भित्र महाभारत गाउपालिकाको सबै मूख्य मूख्य बस्तीहरुमा फाइबर नेट पुर्याउने काम हुनेछ । सम्झौतामा महाभारत गाउँपालिका र ईन्टरनेट प्रदायक संस्था (सजिलो नेटवर्क प्रालि) बिच पालिकाभरका सरकारी कार्यलय, बिद्यालयहरु र बस्ती तथा घरघरमै सर्वसुलभ ईन्टरनेट सुविधा लिन सकिने गरि सहमति भएको  छ ।