त्रिभुवन विश्वविद्यालयमा ५ महिनाभित्रमै नतिजा प्रकासन
त्रिभुवन विश्वविद्यालयले ५ महिनाभित्रै नतिजा प्रकाशन गर्न थालेको छ । त्रिविले नतिजा प्रकाशनको समयसिमामा उल्लेख्य सुधार गरेको हो। शैक्षिक सत्र २०७८ देखि २०८० को सुरुसम्म नतिजा प्रकाशनमा १८ महिनासम्म खर्चिएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयले २०८१ यता ३ देखि ५ महिनाभित्रै नतिजा प्रकाशन गर्न सफल भएको हो ।
त्रिविको ढिलासुस्तीमाथि टिप्पणी गर्दै महालेखापरीक्षकको कार्यालयले ६२ औं वार्षिक प्रतिवेदनमा सुधार गर्न सुझाएको थियो । नतिजा प्रकाशनमा ढिलाइले लाखौं विद्यार्थीको शैक्षिक सत्र तथा रोजगारीका अवसर समेत प्रभावित भएको निष्कर्ष प्रतिवेदनले निकालेको थियो ।
महालेखाले नतिजा सार्वजनिक गर्न परीक्षा सकिएपछि २ सयदेखि ४ सय दिनसम्म समय लिएको जनाएको थियो । परीक्षाको नतिजा ढिलाइले विद्यार्थी मर्कामा परेका थिए भने त्रिविको पनि आलोचना हुँदै आएको थियो । परीक्षा नियन्त्रण कार्यालयका प्रमुख नवीन्द्र भण्डारी २०८१ यता सयदेखि डेढ सय दिनभित्र नतिजा प्रकाशन हुँदै आएको बताउँछन् ।
उनका अनुसार बीबीएस दोस्रो वर्षको ३६ हजार विद्यार्थी सम्मिलित परीक्षाको नतिजा १०२ दिनमा प्रकाशन गरिएको छ । त्यस्तै बीएस्सीको नतिजा एक सय दिनभित्रै १६ जेठमा सार्वजनिक भएको थियो । ५६ हजार विद्यार्थी सहभागी बीबीएस चौथो वर्षको परीक्षाको नतिजा पनि १३२ दिनमा सार्वजनिक गर्न सफल भएको कार्यालयले जनाएको खबर कान्तिपुरमा सुदिप कैनिले लेखेका छन् ।




