सत्तारुढ दलका विद्यार्थी र प्राध्यापकका तालाबन्दीका कारण त्रिभुवन विश्वविद्यालय बन्द
मुलुककै सबैभन्दा ठूलो र जेठो त्रिभुवन विश्वविद्यालय सत्तारुढ दल नेपाली कांग्रेसको भातृ संगठनका विद्यार्थी र प्राध्यापकको तालाबन्दीका कारण बन्धक बनेको छ । सत्तारूढ विद्यार्थी संगठन नेविसंघले ताला लगाएकै बेला आंशिक प्राध्यापकले पनि ताला थपेपछि त्रिविका प्रमुख प्रशासनिक कार्यालय ३० दिनदेखि खुलेका छैनन् ।
काठमाडौं उपत्यकाका केही क्याम्पसमा नेविसंघबाट स्ववियुमा निर्वाचित पदाधिकारीले गत १४ जेठमा उपकुलपति कार्यालय तोडफोड र तालाबन्दी गरेका थिए ।
रेक्टर र रजिस्ट्रारको कार्यकक्षमा पनि उनीहरूले ताला लगाएका थिए । त्यसमा शंकरदेव, सरस्वती, पब्लिक युथ, सानोठिमी क्याम्पसका स्ववियु पदाधिकारी संलग्न थिए । माघमा सकिएको स्नातक तहको भर्ना खुलाउनुपर्ने उनीहरूको माग छ ।
नेविसंघको तालाबन्दी जारी रहेका बेला १५ दिनदेखि आंशिक प्राध्यापक संघले समेत उपकुलपति, रेक्टर, रजिस्ट्रार र सेवा आयोगमा तालाबन्दी गरेको छ । त्रिविले विद्यावारिधि गरेर अनुसन्धानमा सक्रियलाई अन्तर्वार्ताबाट उपप्राध्यापक, सहप्राध्यापक र प्राध्यापक नियुक्ति गर्ने प्रक्रिया फास्ट ट्र्याक विधिमा अघि बढाएपछि असन्तुष्टि जनाउँदै संघका अध्यक्ष गोकुल लिम्बू, सहअध्यक्ष राजेन्द्र आचार्य, महासचिव वैकुण्ठ थापालगायतले तालाबन्दी गरेका हुन् ।
फास्ट ट्र्याकबाट आफन्तलाई नियुक्ति गर्न लागिएको आंशिक प्राध्यापकको आरोप छ । त्रिवि कार्यकारी परिषद्को सिफारिसमा सेवा आयोगले फास्ट ट्र्याकबाट १ सय २० प्राध्यापक नियुक्ति गर्न जेठ अन्तिम साता विज्ञापन प्रकाशन गरेको थियो ।
निमित्त उपकुलपति खड्ग केसी, रेक्टर दुविनन्द ढकाल, रजिस्ट्रार केदार रिजाल १४ जेठयता कीर्तिपुरस्थित कार्यकक्ष फर्केका छैनन् । तालाबन्दीका कारण मात्र नभएर असुरक्षाका कारणसमेत उनीहरू कार्यालय जान नसकेको कर्मचारीहरू बताउँछन् । त्रिवि सेवा आयोगका अध्यक्ष घनश्याम भट्टराई, सदस्य अजय भट्टराई पनि ३० जेठदेखि कार्यकक्ष जान सकेका छैनन् ।
त्रिविका कतिपय पदाधिकारी र कर्मचारीले पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानको डिन कार्यालय, स्मृति भवनलगायत निकायबाट कामकाज गर्दै आएका छन् । अन्यत्र बसेर कामकाज गर्दा पनि तालाबन्दी गर्ने आंशिक प्राध्यापक संघका अध्यक्ष गोकुल लिम्बूलगायतले अवरोध गर्दै आएको उनीहरू बताउँछन् ।




