सुर्खेतको ग्रामिण भेगका अधिकांश महिला प्रजनन् स्वास्थ्यसम्बन्धी समस्याबाट पीडित
सुर्खेतको ग्रामिण भेगका अधिकांश महिला प्रजनन् स्वास्थ्यसम्बन्धी कुनै न कुनै समस्याबाट पीडित रहेको पाइएको छ । उनीहरूमा पाठेघरको मुखको क्यान्सर, आङ खस्ने तथा प्रसव फिस्टुलाका साथै प्रजननसँग सम्बन्धित समस्या देखिएको हो ।
सुर्खेतको लेकवेशी नगरपालिका–३, ब्यावरेमा बुधवार भएको निस्शुल्क महिला स्वास्थ्य शिविरमा परीक्षणका लागि आएका अधिकांश महिलामा कुनै न कुनै प्रजनन् स्वास्थ्य समस्या देखिएको हो ।
शिविरमा परीक्षण गर्दा पोजेटिभ देखिएकालाई उपचार तथा थप उपचारका लागि रिफर समेत गरिएको छ ।
इनरह्वील क्लब अफ सुर्खेत भ्याली, लायन्स क्लब अफ सुनगाभाको आयोजना तथा लेकवेशी नगरपालिकाको समन्वयमा सञ्चालन गरिएको शिविरमा १४२ जनाले परीक्षण गरिएका थिए ।
महिलामा पाठेघरको मुखमा हुने क्यान्सरको जोखिम पहिचान गर्न भिआइए ९एसिड राखेर भाइरसको कोषिका हेर्ने विधि० परीक्षण तथा निस्शुल्क स्वास्थ्योपचार गरिएको थियो ।
भिआइए परीक्षणले केही वर्षपछि क्यान्सर हुँदैछ वा पाठेघरको अवस्था कस्तो छ भन्ने पहिचान गर्न सकिने चिकित्सकहरू बताउँछन् ।
‘हामीले औषधी राखेर गर्ने परीक्षणबाट क्यान्सर बनाउने एचपिभी जीवाणु पोजेटिभ वा नेगेटिभ के छ भन्ने पत्ता लाग्छ’, शिविरमा सहभागी स्वास्थ्य मन्त्रालय अन्तर्गत अस्पताल नर्सिङ प्रशासक दिपा भट्टराईले भनिन्, ‘परीक्षणबाट पाठेघरको अवस्था पत्ता लागेपछि सोही अनुसार उपचार गर्न सकिन्छ ।’
यो विधिबाट एचपिभी भाइरस पत्ता लागेमा क्यान्सर हुनुअघि नै उपचार गरी बच्न सकिने चिकित्सक बताउँछन् ।
भिआइए परीक्षण गर्दा २ जनामा पोजेटिभ देखिएको र उनीहरूको थर्मो कगुलेशन विधिद्वारा उपचार गरिएको नर्सिङ प्रशासक भट्टराईले जानकारी दिइन् ।
उनका अनुसार शिविरमा परीक्षण गराएका ७० प्रतिशत महिलाहरूमा प्रजनन स्वास्थ्य समस्या देखिएको छ । स्वास्थ्य शिविरमा ३० देखि ६० वर्ष उमेर समूह भित्रका महिलाको स्वास्थ्य परीक्षण गरिएको छ ।




