राष्ट्रिय ललितकला प्रदर्शनी–२०८२’ सम्पन्न, ३० हजार बढिले हेरे ६५० बढी कलाकारका कला
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकाे आयाेजनामा सामाजिक रूपान्तरणः ललितकलाको अभियान’ भन्ने नाराका साथ ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८२’ सम्पन्न भएको छ ।
सातै प्रदेशका ६५ जिल्लाका ६ सय बढी कलाकारका ६ सय ५० कलाकृति राखिएको प्रदर्शनी ३० हजार भन्दा बढीले अवलोकन गरेका छन् ।
प्रदर्शनीमा समसामयिक चित्रकला/मूर्तिकला, परम्परागत चित्रकला/मूर्तिकला, वास्तुकला तथा लोककला, शिल्पहस्तकला एवं बहुआयामिक तथा अन्य सिर्जनात्मकलगायत विविध विधा–उपविधाका कलाकृति राखिएको थियाे । जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर शुरू भएको प्रदर्शनी जेठ ३० गतेसम्म चलेको थियाे । प्रदर्शनीमा कलापारखी, राजनीतिज्ञ, बुद्धिजीवी, आमजनसाधारण गरी ३० हजार बढीको उत्साहजनक उपस्थिति रहेको प्रतिष्ठानका सदस्य सचिव देबेन्द्र थुम्केलीले जानकारी दिनुभयाे ।
प्रदर्शनीले नेपाली ललितकलाको अवस्थालाई नजिकबाट नियाल्न मद्दत मिलेको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले बताउनुभयो ।
प्रतिष्ठानका उपकुलपति एवं राष्ट्रिय ललितकला प्रदर्शनीका कार्यकारी संयोजक लालकाजी लामाले राष्ट्रिय ललितकला प्रदर्शनीले नेपालको ललितकलाको बहुआयामिकतालाई चिनाउन सफल भएको बताउनुभयो ।
प्रतिष्ठानले अनुसन्धान, सिर्जना र सम्मानसँगै ललितकला क्षेत्रको संरक्षण, संवर्धन एवं सर्वाङ्गीण विकासार्थ विशेष रणनीतिक योजनासाथ सिर्जनात्मक क्रियाकलापहरू गर्दै/गराउँदै आएको छ ।





