त्रिदेशीय २०-२० शृंखलामा स्कटल्याण्डलाई पराजित गर्दै नेपाल विजयी

मूलखबर संवाददाता
काठमाडौं, ४ असार

नेपालले त्रिदेशीय २०–२० शृंखलामा मंगलबार स्कटल्यान्डलाई ‘लो स्कोरिङ’ खेलमा २ विकेटले पराजित गरेको छ ।

नेपालले ९८ रनको झिनो लक्ष्य ग्लास्गोस्थित टिटउड क्रिकेट मैदानमा १ बलअगाडि पूरा गरेको हो ।

अघिल्लो दिन नेपालले ७ चौका मात्र प्रहार गरेको थियो । स्कटल्यान्डले पनि ६ चौका र २ छक्कामात्र प्रहार गर्न सकेको थियो । सानो लक्ष्यमा पुग्न नेपालले निकै संघर्ष गर्नुपरेको थियो ।

शुरूवातकाे खेलमा लगातार दुई चौका प्रहार गरेपछि लोकेश बम अर्को बलमा आउट भए । ९ रन बनाएका उनलाई ब्रान्डन म्याकमुलेनले आउट गरे । ज्याक जार्भिसले अनिल साहलाई ३ रनमा र साफ्यान सरिफले कप्तान रोहित पौडेललाई ७ रनमा बोल्ड गरे ।

लामो समय क्रिजमा टिकेका ओपनर कुशल भूर्तेलले ३५ बल खेली ४ चौकासहित ४० रन बनाए । उनलाई मार्क वाटले एलबीडब्लु आउट गरे । दीपेन्द्रसिंह ऐरी २१ बल खेली कुनै बाउन्ड्री प्रहार गर्न नसकी १४ रनमा आउट भए ।

माइकल लिस्कले सानदार रिटर्न क्याचमा बसिर अहमदलाई १३ रनमा आउट गरे । रुपेश सिंह ३ रनमै आउट भए । अन्तिम ओभरमा नेपाललाई विजयका लागि ४ रन चाहिन्थ्यो । किरण ठगुन्ना र करण केसीले पहिलो ३ बलमा १–१ रन लिएपछि स्कोर बराबरी भएको थियो । तर चौथो बलमा ठूलो सट खेल्ने क्रममा किरण १० रन बनाई आउट भए ।