सुशासन कायम गर्न सरकार चुक्याे : काेइराला

मूलखबर संवाददाता
काठमाडौं, २३ बैसाख

सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस नै सरकारकाे नेतृत्व गरेका एमाले अध्यक्ष केपी ओलीसँग सन्तुष्ट नभएको देखिएको छ ।

संघीय संसद् भवन परिसरमा सोमबार कांग्रेस सांसद शेखर कोइरालाले सरकार गठनका बेला कांग्रेस र एमालेबीच भएको सातबुँदे सम्झौताको कार्यान्वयन नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । संविधानको पुनरावलोकन, आर्थिक सुधार, भ्रष्टाचारलाई नियन्त्रण मुलुकमा सुशासन कायम गर्ने कुरामा सरकार चुकेको उनको भनाइ थियो ।

‘सात बुँदे सम्झौतामा यो सरकार बनेको हो । सात बुँदाहरूमा रहेका संविधानको पुनरावलोकन गर्ने कुरा, आर्थिक सुधार गर्न, भ्रष्टाचारलाई निर्मूल गर्न, दण्डहीनताको अन्त्य गर्न र सुशासन दिने कुरामा सरकार चुकेको छ,’ उनले भने, ‘संविधानमा पुनरावलोकन गर्ने कुरामा चाहिँ कांग्रेस र एमालेको दुई तिहाइ छ भनेर बनाउने होइन । संसदभित्र रहेका सबै दलहरुको प्रतिनिधित्व गरेर सरोकारवाला समावेश गरेर जानुपर्छ । संविधान पुनरावलोकन गर्ने कुरा समय लाग्ने कुरा हो । तर ९ महिना भइसक्यो सुरु गरेको भए हुन्थ्यो ।’