
नियमविपरित काम गर्ने ११ वित्तिय संस्था कारवाहीमा
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नियमविपरीत काम गर्ने ११ वित्तीय संस्थालाई राष्ट्र बैंकले कारबाही गरेको छ । यस वर्षको माघ, फागुन र चैत (तेस्रो त्रैमास) सम्म पाँच वाणिज्य बैंक, तीन विकास बैंक र तीन वित्त कम्पनी राष्ट्र बैंकको कारबाहीमा परेका हुन् ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा पाँच वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । उक्त अवधिमा आफ्नो निर्देशनविपरीत काम गरेको भन्दै नेपाल राष्ट्र बैंकले राष्ट्रिय वाणिज्य, कुमारी, लक्ष्मी सनराइज, स्ट्यान्डर्ड चार्टर्ड र नेपाल बैंकलाई कारबाही गरेको हो ।
यसैगरी लक्ष्मी सनराइज बैंकका सञ्चालक, चुक्ता पुँजीको एक प्रतिशत वा सोभन्दा बढी सेयर लिएका व्यक्ति, कार्यकारी प्रमुख वा त्यस्ता व्यक्तिको परिवारका सदस्य वा म्यानेजिङ एजेन्ट वा सञ्चालक मनोनीत गर्ने अधिकार पाएका व्यक्ति, फर्म, कम्पनी वा संस्थाको उल्लेख्य स्वामित्व वा वित्तीय स्वार्थ भएको कुनै फर्म, कम्पनी वा संस्थालाई कुनै किसिमको कर्जा वा सुविधा प्रदान गर्न बन्देज गरिएको राष्ट्र बैंकले जनाएको छ ।
उक्त बैंकको संस्थापकको सोही बैंकमा कल खाता तथा चालु खाता सञ्चालन हुँदै आएकामा चालु खातामा विभिन्न मितिमा दैनिक मौज्दात रकम ऋणात्मक रही नियमविपरीत अप्रत्यक्ष रूपमा कर्जा सुविधा उपलब्ध गराएको भन्दै राष्ट्र बैंकले प्रमुख कार्यकारी अधिकृतलाई नसिहत दिएको छ ।
कारबाहीमा परेका बैंकमध्ये राष्ट्रिय वाणिज्य बैंकले कर्जालाई सूक्ष्म निगरानी वर्गमा वर्गीकरण नगरेको, कर्जा बक्यौता अवधिका आधारमा कर्जा नोक्सानी व्यवस्था कायम नगरेको र केही कर्जाको जोखिम भार गणना गर्दा नियम पालना नगरेको राष्ट्र बैंकले जनाएको छ । चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा भएका कतिपय व्यवस्थाको पूर्ण पालना नगरेकाले राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको पनि राष्ट्र बैंकले बताएको छ ।
कुमारी बैंकलाई निर्देशनबमोजिम निष्क्रिय कर्जा वर्गीकरण नगरेको र न्यूनतम कर्जा नोक्सानी व्यवस्था कायम नगरेको भन्दै राष्ट्र बैंकले कुमारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको हो । लक्ष्मी सनराइज बैंकले नियमअनुसार निष्क्रिय कर्जालाई वर्गीकरण नगरेको र न्यूनतम कर्जा नोक्सानी व्यवस्था कायम नगरेकाले उक्त बैंकका प्रमुख कार्यकारी अधिकृतलाई राष्ट्र बैंकले सचेत गराएको खबर कान्तिपुरमा छ ।
रणनीतिक योजना, वार्षिक बजेट तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गराउन नसकेको, बजेट तथा कार्यक्रम र रणनीतिक योजनाबीच प्रभावकारी तादात्म्य गराउन नसकेको भन्दै राष्ट्र बैंकले नेपाल बैंकलाई कारबाही गरेको छ ।
तोकिएको उत्पादनशील (कृषि, ऊर्जा, लघु एवं साना तथा मझौला) क्षेत्रमा न्यूनतम कर्जा प्रवाह नगरेको भन्दै राष्ट्र बैंकले स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई १४ करोड ८५ लाख २५ हजार ५ सय ६६ रुपैयाँ जरिवाना गरेको छ ।
तेस्रो त्रैमासमा मुक्तिनाथ विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र सालपा विकास बैंक राष्ट्र बैंकको कारबाहीमा परेका हुन् । तीमध्ये मुक्तिनाथलाई मासिक ब्याजदर अन्तर तोकिएको सीमाभित्र कायम नगरेको, तोकिएको उत्पादनशील (कृषि, ऊर्जा, लघु एवं साना तथा मझौला) क्षेत्रमा न्यून कर्जा प्रवाह गरेको, न्यूनतम अनिवार्य नगद मौज्दात कायम नगरेको लगायत कारण देखाउँदै राष्ट्र बैंकले हर्जानास्वरूप नगद जरिवाना गरेको हो ।
न्यूनतम अनिवार्य नगद अनुपात कायम नगरेको भन्दै पोखरा फाइनान्सलाई राष्ट्र बैंकले नगद जरिवाना गरेको छ । २०८१ मंसिर मसान्तमा संस्थाले न्यूनतम पुँजी कोष अनुपात नियामकीय मापदण्डबमोजिम नरहेको भन्दै राष्ट्र बैंकले जानकी फाइनान्सलाई शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी कारबाही गरेको छ ।
कारबाहीमा परेका बैंक र कारण
राष्ट्रिय वाणिज्य बैंक
–कर्जालाई सूक्ष्म निगरानी वर्गमा वर्गीकरण नगरेको
–कर्जा बक्यौता अवधिका आधारमा कर्जा नोक्सानी व्यवस्था कायम नगरेको
–केही कर्जाको जोखिम भार गणना गर्दा नियम पालना नगरेको
कुमारी बैंक
–कर्जालाई सूक्ष्म निगरानी वर्गमा वर्गीकरण नगरेको
–न्यूनतम कर्जा नोक्सानी व्यवस्था कायम नगरेको
लक्ष्मी सनराइज बैंक
–नियमअनुसार निष्क्रिय कर्जा वर्गीकरण नगरेको
–न्यूनतम कर्जा नोक्सानी व्यवस्था कायम नगरेको
–बैंक संस्थापकलाई नियमविपरीत अप्रत्यक्ष रूपमा कर्जा सुविधा उपलब्ध गराएको
नेपाल बैंक
–रणनीतिक योजना, वार्षिक बजेट तथा कार्यक्रम प्रभावकारी कार्यान्वयन गराउन नसकेको
–बजेट तथा कार्यक्रम र रणनीतिक योजनाबीच प्रभावकारी तादात्म्य गराउन नसकेको
स्ट्यान्डर्ड चार्टर्ड बैंक
–तोकिएको उत्पादनशील क्षेत्रमा न्यूनतम कर्जा प्रवाह नगरेको
मुक्तिनाथ विकास बैंक
–मासिक ब्याजदर अन्तर तोकिएको सीमाभित्र कायम नगरेको
–तोकिएको उत्पादनशील क्षेत्रमा न्यून कर्जा प्रवाह गरेको
–न्यूनतम अनिवार्य नगद मौज्दात कायम नगरेको
नारायणी डेभलपमेन्ट बैंक
–समस्याग्रस्त संस्थाको सूचीबाट हटाउादाको सर्तअनुसार न्यूनतम चुक्ता पुँजी कायम नगरेको
–सर्वसाधारणबाट तोकिएको सीमाभन्दा बढी निक्षेप संकलन गरेको
सालपा विकास बैंक
–‘ख’ वर्गका वित्तीय संस्थालाई तोकिएको न्यूनतम चुक्ता पुँजी कायम नगरेको
पोखरा फाइनान्स
–न्यूनतम अनिवार्य नगद अनुपात कायम नगरेको
–राष्ट्र बैंकले औंल्याएका कैफियतमा सचेत नभएको
जानकी फाइनान्स
–शीघ्र सुधारात्मक कारबाही
गोर्खाज फाइनान्स
–संस्थामा तीन महिनासम्म पनि सीईओ पदपूर्ति गर्न नसकेको