सावधान ! नागढुंगा नाैविसे सडकखण्ड राती बन्द हुँदैछ
काठमाडौंबाट पश्चिमतर्फ रात्रिवसमा यात्रा गर्न खाेज्दै हुनुहुन्छ ? याद राख्नुस । नागढुंगा नाैविसे सडक खण्ड राति बन्द हुँदैछ ।
त्रिभुवन राजपथको नागढुंगा-पिप्लामोड सडक निर्माण तथा सुधार गर्नुपर्ने भएकाले नागढुंगा-नौबिसे खण्ड यही वैशाख २२ देखि रातिमा बन्द गरिने भएको छ ।
नागढुंगा-मुग्लिङ सडक योजना (पूर्वी खण्ड)ले उक्त जानकारी गराएकाले सोहीअनुसारको व्यवस्था मिलाउने गरी आवश्यक तयारी थालिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
नागढुंगा-मुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले शनिबार सूचना जारी गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयको समन्वयमा वैशाख २२ देखि वैशाख ३१ गते राति ११ देखि ३ बजेसम्म उक्त सडकमा सवारीसाधन आंशिक रूपमा रोकी निर्माण गर्नुपर्ने भएकाले सार्वजनिक सूचना प्रकाशित गरी जानकारी गराएको उनले उल्लेख गरे ।