
यो नीति कार्यक्रमले हालको चुनौती सम्बोधन गर्न सक्दैन : डा. बाबुराम भट्टराई
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मुलुकका दुई ठूला र फरक विचारधारा रहेका दलहरू सम्मिलित भई बनेको सरकारले नीति तथा कार्यक्रम गुणात्मक ल्याउछ की भनी अपेक्षा गरिएकामा त्यसो नभई निरन्तरतामा आधारित भएर आएको प्रतिक्रिया दिनुभयो ।
उहाँले भन्नुभयो, “कार्यक्रममा आउन त सबै कुराहरू आएको छ, तर परम्परागत सुधारात्मक ढङ्गले आयो । देशको आवश्यकता सुशासन र आर्थिक क्षेत्रमा गुणात्मक महत्वको परिवर्तनसहित आउछ की भन्ने अपेक्षा थियो, मैले त्यो पाइन ।”
ती सुधारात्मक कदमले हालको चुनौती सम्बोधन गर्न नसक्ने बताउँदै पूर्वप्रधानमन्त्री डा भट्टराईले कार्यक्रममा सबै विषय समेटिए प्राथमिकीकरण नभएका कारण कार्यान्वयनमा अलमल हुने बताउनुभयो । उहाँले भन्नुभयो, “नीति तथा कार्यक्रम सामान्य रूपमा पास अङ्क ल्याउने भए पनि उच्चतम अङ्क प्राप्त गर्न नसक्ने खालको छ ।”