फेरि केआईआईटी कलेजमा एक विद्यार्थी मृत फेला, अनुसन्धान हुँदै

मूलखबर संवाददाता
काठमाडौं

फेरि  भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोज (केआईआईटी)मा हाेस्टलमा बस्ने एक विद्यार्थी मृत अवस्थामा भेटिएकी छिन् ।

कलेजमा अध्ययनरत वीरगन्जकी नेपाली विद्यार्थी प्रिसा शाह मृत भेटिएपछि प्रहरीले घटनाको अनुसन्धान थालेको छ । सो शिक्षालयको दोस्रो सेमेस्टरमा अध्ययनरत शाह होस्टल मै बसेकी थिइन् ।

उनीसँग सँगै अध्ययन गर्ने रुपन्देहीका विद्यार्थी सुयोग लम्सालका अनुसार अहिले विद्यार्थीहरूलाई प्रहरीले सोधपुछ गरिरहेको र शव भित्रै रहेको अवस्था छ । घटनास्थलमा प्रहरी पुगिसकेको र थप अनुसन्धान र सोधपुछ भइरहेको उनले जनाएका छन् । ‘एकाएक यस्तो घटनाले नेपाली मात्रै होइन सबै विद्यार्थीलाई स्तब्ध बनाएको छ, कोही केही बोल्ने मुडमा छैनन्, विषयवस्तु पनि केही खुलेको छैन’ उनले भने ।

वीरगन्जकी शाह अर्को एक जना साथीसँगै बस्ने गरेकी थिइन् । ‘शाह मेरो क्लासमेट नै हो, दुई जना नेपाली छात्राहरू होस्टेलमा बस्ने साथीहरू थिए नै तर आज एक्कासि यस्तो घटना देख्नुपर्‍यो’ उनले भने–‘क्लासमा निकै मेहनती र शालीन थिइन्।’

गत ४ फागुनमा केआईआईटीमा अध्ययनरत २० बर्सिया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टेलमा मृत फेला परेपछि विद्यार्थीहरूले आन्दोलन गरेका थिए । रुपन्देहीको भैरहवा निवासी लम्सालले आफूमाथि मानसिक दुर्व्यवहार र ब्ल्याकमेल भएकोबारे परिवारले नै त्यहाँ पुगेर उजुरी दिएको थियो ।

त्यो घटनापछि कलेज प्रशासनले नेपाली विद्यार्थीमाथि गरेको दुर्व्यवहारको ठुलो आलोचना भएपछि माफी माग्दै ती कर्मचारीलाई कारबाही सिफारिस गरिएको थियो । त्यहाँको राष्ट्रिय मानव अधिकार आयोगले छानबिनपछि विश्वविद्यालयको निष्क्रियतालाई घोर लापरबाही ठहर गरेको थियो।