
श्रमिक दिवसमा प्रचण्डको शुभकामना : सबै खाले बेथितिका विरुद्ध संघर्ष गराैं
आज मे १, अन्तर्राष्ट्रिय श्रमिक दिवस यस अवसरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुभकामना दिँदै सबै खाले बेथितिका विरुद्ध संघर्ष गर्दै निरन्तर अघि बढ्न अपिल गर्नुभएको छ ।
प्रचण्डले शुभकामना सन्देश जारी गर्दै अन्तर्राष्ट्रिय श्रमिक दिवसको यस ऐतिहासिक दिनमा म नेपालसहित विश्वका सम्पूर्ण श्रमजीवी वर्गसँग जुझारु ऐक्यवद्धता प्रकट गर्दछु भन्नुभएको छ ।
शुभकामनाकाे पुरा पाठ-
अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना
अन्तर्राष्ट्रिय श्रमिक दिवस (१ मई) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवी दिदीबहिनी, दाजुभाइ तथा आमा बुवाहरूमा सुख, शान्ति र समृद्धिसहित उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
आठ घण्टा कार्यदिनको मागसहित आफ्नो अधिकारका निमित्त अमेरिकाको शिकागो शहरका मजदूरहरुले गरेको संघर्षलाई स्मरण गर्दै नेपाल लगायत विश्वभरका मजदूरहरुले १ मईको दिनलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा मनाउँदै आएका छन । अन्तर्राष्ट्रिय श्रमिक दिवसको यस ऐतिहासिक दिनमा म नेपालसहित विश्वका सम्पूर्ण श्रमजीवी वर्गसँग जुझारु ऐक्यवद्धता प्रकट गर्दछु ।
नेपालमा श्रमजीवी जनसमुदायले आफ्नो अधिकारका निमित्त संघर्ष र वलिदानका अनेकौं कीर्तिमान कायम गरेका छन् । किसान, मजदूरसहित उत्पीडित जाति, क्षेत्र, लिङ्ग र समुदायका जनताको संघर्ष र बलिदानको कीर्तिमानकै कारण आज देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था कायम छ । सुशासन, सामाजिक न्याय र समृद्धिको आकांक्षासहित मुलुकलाई अघि बढाउनु आजको ऐतिहासिक कार्यभार हो ।
आज भ्रष्टाचार, बेथिति, अनियमितता, बिचौलिया र दलाल पुँजीवादसँग निरन्तर संघर्ष गर्नुपरिरहेको अवस्था छ । यो सन्दर्भमा निरन्तर श्रमजीवी वर्गको नेतृत्वदायी प्रतिनिधित्व गर्दै सबै खाले बेथितिका विरुद्ध संघर्ष गर्दै निरन्तर अघि बढ्नु हाम्रो आधारभूत कार्यभार हो । अहिले एकातिर प्रतिगामी तत्वहरुसँग संघर्ष गर्नुपर्ने अवस्था छ भने अर्कोतिर यथास्थितिवादका विरुद्ध श्रमजीवी वर्ग आफ्नो मौलिक पहिचानसहित अघि बढ्नुपर्ने आवश्यकता छ ।
सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिसहितको नेपाली विशिष्ठताको समाजवादी कार्यदिशाका साथ अघि बढ्नु आजका दिनमा नेपाली श्रमजीवी वर्गको आफ्नो मौलिक पहिचान हो । बदलिएको राजनीतिक परिवर्तनअनुरुप आम श्रमजीवी वर्गको अवस्था बदल्न पूर्ण रुपमा समर्पित बनौं । यसमा आम आम श्रमजीवी वर्गलाई अघि बढाउन प्रण गरौं । यही नै साँचो अर्थमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको सच्चाई हुनेछ ।
अन्त्यमा, पुनः अन्तर्राष्ट्रिय श्रमिक दिवस (१ मई) को अवसरमा शुभकामना व्यक्त गर्दछु ।
१८ वैशाख, २०८२ (१ मई २०२५)
पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष, नेकपा (माओवादी केन्द्र)