
तीन दिन हिरासतमा राख्न अनुमति
कालीमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोपमा पक्राउ पर्नुभएकी सांसद माया राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले प्रहरीलाई अनुमति दिएको छ ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाकी समानुपातिक सांसद राईलाई प्रहरीले शनिबार साँझ कपन क्षेत्रबाट पक्राउ गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा रहनुभएकी राईलाई आइतबार अदालत उपस्थित गराइएको थियो । उहाँलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको प्रहरी उपरीक्षक अपिलराज बोहोराले जानकारी दिनुभयो ।
स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा उहाँलाई मुद्दा चलाउन सिफारिस गरिएको थियो । सहकारी ठगी र सङ्गठित अपराधको कसुरमा राईमाथि काठमाडौँ जिल्ला अदालतबाट यसअघि नै पक्राउ पुर्जी जारी भइसकेको थियो । सो सहकारीको सञ्चालक समितिको तत्कालीन सहसचिवको जिम्मेवारीमा रहनुभएकी राईसहित ४० जना जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । राईलगायत आरोपितमाथि सहकारीका ६९० बचतकर्ताको एक अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपियाँ हिनामिना गरेको आरोप छ ।