बजेट अधिवेशनमा शिक्षकका माग सम्वाेधन गर्न सकिन्न : सभामुख घिमिरे

मूलखबर संवाददाता
काठमाडौं, ३ बैसाख

सरकारले आगामी बजेट अधिवेशनबाट शिक्षककाे माग सम्वाेधन हुनेगरी शिक्षा ऐन ल्याउने आश्वासन दिइरहेका बेला सभामुख देवराज घिमिरेले भने बजेट अधिवेशनमा शिक्षकहरूका माग सम्बोधन गर्न सम्भव नरहेको बताएका छन् ।

बुधवार झापामा न्युज एजेन्सी नेपालका प्रतिनिधिसँगको कुराकानीका क्रममा सभामुख घिमिरेले बजेट अधिवेशनमा बजेट सम्बन्धी विषयहरू नै बढी प्राथमिकता दिनुनपर्ने भएकाले शिक्षकहरूका माग सम्बोधन गर्नसक्ने अवस्था नरहेको बताएका हुन् ।

बजेट अधिवेशनमा शिक्षा विधेयकलाई एक नम्बरको बुँदामा राखेर टुंग्याएर अर्को विषयमा जान सम्भव नभएको उनको भनाइ थियो ।

सभामुख घिमिरेले भने- आह्वान भएको अधिवेशनले पनि शिक्षा विधेयकलाई तुरुन्तै एक नम्बरको बुँदामा राखेर टुंग्याएर अर्को विषयमा जानु सम्भव छैन । किनभने बजेट अधिवेशनले बजेटसँग सम्बन्धित विषयलाई नै प्राथमिकता दिनुपर्छ,’ सभामुख घिमिरेले भने, ‘किनभने बजेट जेठ १४ गते भित्रमा प्रस्तुत भइसक्नुपर्छ र असार मसान्तसम्ममा पारित भइसक्नुपर्छ । कानुनी प्रक्रियाको सीमाभित्रै बसेर काम गर्नुपर्ने बाध्यता हुन्छ ।

शिक्षक महासंघले ऐन जारी हुने विश्वसनीय आधार निर्माण नभएको भन्दै देशभरका शिक्षकहरूलाई माईतीघरमै उपस्थित भएर हाजिर गर्न आग्रह गर्दै आन्दोलन थप सशक्त बनाउने घोषणा गरेको छ ।