शिक्षकका यथोचित माग पुरा गर्न तयार छौं : सरकार

मूलखबर संवाददाता
काठमाडौं, २ बैसाख

सरकारले शिक्षकहरूका यथोचित माग पुरा गर्न तयार भएको जानकारी दिएको छ । शिक्षकका मागप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै आज बसेको मन्त्रीपरिषद बैठकमा छलफल भएको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकमा शिक्षकका मागका सम्बन्धमा छलफल भएको थियो ।

बैठकपछि शिक्षामन्त्री विद्या भट्टराईले नेपाल शिक्षक महासंघले उठाएका माग सम्बोधन गर्ने सम्बन्धमा छलफल भइरहेको जनाउँदै सरकार संवेदनशील रहेको जानकारी दिइन् ।

नेपाल शिक्षक महासंघले उठाएका मागहरूको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर रहेको छ । यथोचित मागको सम्बोधन गर्न सरकार तयार छ,  मन्त्रिपरिषद् बैठकका निर्णयबारे मन्त्री भट्टराईले भनिन्, नेपाल शिक्षक महासंघको आह्वानमा भइरहेको प्रदर्शनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । हाल विद्यार्थी भर्नाको समय एसईईको उत्तरपुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षासमेतको समय भएको अवस्था रहेकोले विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी अभिभावक एवं विद्यार्थीको हितलाई मध्यनजर गरी सम्पूर्ण शिक्षकहरूलाई आ-आफ्नो कार्यथलोमा फर्किन अनुरोध गर्ने ।

हिजोको नेपाल सरकारको मन्त्रिपरिषद्का निर्णयहरू
१. शिक्षा विधेयक ‘यथाशक्य’ पारित गर्ने समेत प्रयोजनका लागि वैशाख १२ गते संसद बैठक आह्वान गर्ने ।
२. नेपाल शिक्षक महासङ्घका मागहरूको ‘यथोचित’ सम्बोधन गर्न सरकार गम्भीर र संवेदनशील।
३. भर्ना अभियान, एसइइ उत्तरपुस्तिका परीक्षण र १२ कक्षाको राष्ट्रिय परीक्षाको महत्वपूर्ण समय भएकाले विरोध र प्रदर्शनका कार्यहरू स्थगन गर्न अनुरोध।