सरकारको निर्णयपछि शिक्षक महासंघले भन्यो – भ्रममा नपरौं, आन्दोलन जारी छ

मूलखबर संवाददाता
काठमाडौं, ३ बैसाख ।

सरकारले शिक्षकको मागहरु सम्वोधन हुनेगरी आगामी बैसाख १२ गतेदेखि संसदको अधिवेशन आव्हान गरेपनि आन्दोलनरत शिक्षक महासंघले भने सरकारले भ्रम छरेको र आन्दोलन जारी रहेको प्रतिक्रिया दिएको छ ।
हिजो साँझ बसेको मन्त्रीपरिषदको बैठकले शिक्षकको मागप्रति सरकरा सकारात्मक भएको र अधिवेशनबाट सो विषयमा निर्णय लिन सकिने आसयको निर्णय गरेको थियो । सरकारले आन्दोलनरत शिक्षकहरुलाई आन्दोलन छाड्न र शिक्षण पेशामा फर्कीन आग्रह पनि गरेको छ तर महासंघले शिक्षा ऐन जारी नभएसम्मको लागि आन्दोलन जारी राख्ने निर्णय गरेको महासंघको आन्दोलन परिचालन समितिका संयोजक नानुमाया पराजुली र महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिएका छन् ।
पराजुलीले फेसबुक स्टाटसमा लेखेकी छिन् –

आदरणिय शिक्षक कर्मचारी साथिहरू, झुट्टा हल्लाको पछि नलाग्न सबैमा अनुरोध १ नेपाल शिक्षक महासङ्घ र नेपाल सरकार बीचमा गत २०८० आश्विन ५ र १२ गते सम्पन्न सम्झौता वमोजिम मन्त्रीपरिषद बाट सम्बोधन गर्नुपर्ने मागमुद्धाहरुलाइ बेवास्ता गर्दै ऐतिहासिक शिक्षक आन्दोलनलाई कमजोर बनाइ प्रतिगामी शिक्षा ऐन जारी गरि नेपालको सार्वजनिक शिक्षालाई पुर्ण रुपमा ध्वस्त बनाउने कुटिल षड्यन्त्रमा सरकार अगाडि बढिरहेको हुनाले सम्पुर्ण शिक्षक तथा कर्मचारी साथीहरू अझै उच्च मनोबल,धैर्यता र उर्जाको साथ संघर्षको मैदानमा डटिरहन र सम्पुर्ण साथीहरू कुनै बहानावाजी नगरी काठमाडौ केन्द्रित हुन र निर्णायक आन्दोलन हो भनि मनन गर्न हार्दिक अनुरोध गर्दछु ।
आदरणीय साथीहरू
मेरो आन्दोलन ,मेरो सहभागिता
बलियो सहभागिता ,बलियो आन्दोलन
बलियो आन्दोलन ,बलियो उपलब्धि
कि जितिन्छ,कि बितिन्छ।

लक्ष्मीकिशोर सुवेदीले फेसबुक स्टाटसमा लेखेका छन्-

हिजो बैशाख २ गतेको आन्दोलनमा सहभागी सबै साथीहरुलाई धन्यवाद । आज बैशाख ३ गते सदा झैं ठिक १२ः०० बजे माइतीघर मण्डला आइपुग्नु होला । हाम्रो आन्दोलन जारी छ ।
आदरणीय साथीहरु,
१.अब हामी निर्णायक मोडमा आइपुगेका छौं । हामीले उठाएका विषयमा राज्य यथावत् अनुदार देखिन्छ । त्यसैले अझ बढी प्रतिबध्दता र सहभागिताका साथ आन्दोलन अघि बढाउनुको विकल्प छैन ।
२.देश भरिका सबै साथीहरु आन्दोलनको यो निर्णायक घडीमा हामी तपाईंलाई काठमाडौंको आन्दोलनको मोर्चामा पर्खिरहेका छौं । यो आन्दोलनले तपाईंको सक्रिय सहभागिता खोजिरहेको छ । तुरुन्तै काठमाडौं आइपुग्नुहोला ।
३.अनधिकृत विचार, अफवाह, षडयन्त्र र भ्रामक समाचार प्रति सचेत रहनुहोला ।
“मेरो आन्दोलन, मेरो सहभागिता ।”
“बलियो उपस्थिति बलियो आन्दोलन, बलियो आन्दोलन बलियो उपलब्धि ।”