माओवादी केन्द्रकाे अभियान पुन शुरू, जनताले माओवादीप्रति भराेसा गरेका छन्: प्रचण्ड

मूलखबर संवाददाता
काठमाडौं

माओवादी केन्द्रले हुलाकी राजमार्ग केन्द्रीत तराई मधेश जनजागरण अभियानलाई पुनः निरन्तरता दिएको छ । स्थगित गरिएको अभियान बैसाख १ गतेबाट पुनः नवलपुरबाट शुरू गरिएको हाे ।

अभियान सुचारू गर्नकाे लागि पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको टिम नवलपुर पुगिसकेको छ ।

अध्यक्ष प्रचण्डले  पछिल्लो समय जनताले माओवादी केन्द्रप्रति भरोसा गरेको बताएका छन् । सोमबार साँझ नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा आयोजित ‘जनतासँग माओवादी हुलाकी मार्ग केन्द्रित तराई–मधेश जागरण अभियान’ लाई सम्बोधन गर्दै अध्यक्षले झापादेखि नवलपुरसम्म आउँदा माओवादी केन्द्रलाई जनताले भरोसा गरेको अनुभूति भएको बताएका हुन् ।

अध्यक्ष प्रचण्डले अहिले देशको राजनीति असहज अवस्थाबाट गुज्रिएकाले यसलाई सहज परिस्थिति बनाउन थुप्रै खबरदारी अभियान गरिएको उल्लेख गरे । माओवादीले झापाबाट सुरु गरेको अभियान कञ्चनपुरसम्म पुग्ने भएकाले हालसम्म लाखौँ जनताको सहभागिता रहेको उनको दाबी छ ।

‘अभियानका क्रममा मैले सहिद, बेपत्ता, योद्धा परिवार, गरिब, मजदुर, किसानहरुको कुरा नजिकबाट सुन्ने अवसर पाएको छु,’ उनले भने, ‘यस अवसरमा आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम थारु समुदायको अहिलेको चाहना र आवश्यकतालाई नजिकबाट बुझ्ने कोसिस गरेको छु ।’