
गण्डकीको हिउँदे अधिवेशन सकियो, लोकल रक्सी ब्राण्डिङ गर्ने विधेयक ‘टेबुल’
गण्डकी प्रदेश सभाको हिउँदे अधिवेसन सम्पन्न भएको छ ।
सरकारको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले चालू सातौं अधिवेसन अन्त्य गरेका हुन् ।
हिउँदे अधिवेसनमा १० वटा नयाँ विधेयक संसदमा ‘टेबुल’ भएको छ भने ६ वटा विधेयक पारित गरिएको छ । यही अधिवेसनबाट संसदको संशोधित नियमावली समेत पारित गरिएको छ ।
सातौं अधिवेसनमा संसदका १६ वटा बैठक बसेको छ । गण्डकी प्रदेशमा साझेदारी फर्मको नियमन र व्यवस्थापन गर्ने विधेयक, सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मतसम्भार गर्ने विधेयक, सामयिक कर असुल गर्ने विधेयक, प्रदेश निजामती सेवा ऐनको संशोधन विधेयक, जीवनाशक विषादी व्यवस्थान विधेयक पारित गरिएको संसदका सचिव हरिराज पोखरेलले जानकारी दिएका छन् ।
सरकारले औद्योगिक व्यवसाय ऐन २०७५ लाई संसोधन गर्न बनेको विधेयक, विद्युत विकास विधेयक, मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने विधेयक, दलित अधिकार तथा सशक्तीकरण, अपांगता भएका व्यक्तिहरुको अधिकार, खानी तथा खनिज विधेयक संसदमा पेस गरेको छ ।
यस्तै, भवन निर्माण तथा बस्ती विकास विधेयक, खाद्य अधिकार तथा खाद्य गुणस्तर विधेयक, जनस्वास्थ्य सेवा विधेयक र घरेलु मदिराको उत्पादनलाई नियमन र व्यवस्थापन गर्न बनेको विधेयक समेत पेस गरिएको छ । संसदमा पेस भएका विधेयक सामान्य छलफलपछि सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाइएको संसद सचिवालयले जनाएको छ ।
