वायु प्रदुषणकाे प्रभाव : २२६ वटा आन्तरिक उडान रद्व

मूलखबर संवाददाता
काठमाडौं, २४ चैत

वायु प्रदुषणकाे तह विश्वकै खराब अवस्थामा पुगेको काठमाडौंमा केही दिनदेखी उडानहरू नियमित हुन सकेका छैनन् ।

केही दिनयता काठमान्डौको आकाश धुम्म छ । भिजिविलिटी यति धेरै घटेको छ कि दिउँसै रात परेजस्तो अनुभव भइरहेको छ । धुम्म आकाशकै कारण पछिल्लो एक सातामा मात्रै ७ वटा आन्तरिक वायुसेवा कम्पनीका दुईतर्फी २ सय २६ वटा आन्तरिक उडान रद्द भएका छन् ।

प्रदुषणयुक्त तुँवालोका कारण पहिले पहाडी तथा हिमाली भेगका विमानस्थलमा मात्रै प्रभावित हुदा उडान रद्द हुन्थे । तर यसपटक सुगम भेगका विमानस्थलहरुमा पनि उडानहरु रद्द भइरहेका छन् । सामान्य अवस्थामा पाइलटले जहाजभित्रबाट आँखाले देख्न सक्ने दुरी (भिजिबिलिटी) ५ हजार मिटर हुदाँ उपकरणहरुको भर नपर्दा पनि हुन्छ ।

वन–डेढेलो, धुलो, धुवाँसहितको प्रदुषणका कारण एक सातामा अधिकाशं पाइलटहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आखाँको सहायताले गर्ने भीएफआर उडान हुन सकिरहेका छैनन । ५ हजार मिटर भन्दा कम भिजिविलिमा उडान ठप्पै हुने त होइन ।

विमानस्थल वरिपरीको दृश्य सफा नहुदा पाइलटहरुले आँखाले हेरेर मात्रै उडान गर्न नसकेर जहाज र विमानस्थलको सतहमा भएका उपकरण, नेभिगेसन यन्त्रहरुको सहायतामा आईएफआर प्रणाली अपनाउँदै उडानहरु गर्नुपरेको काठमाडौं विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार, चैत १७ देखी २३ गतेसम्मै उडान रद्दका घटना दोहोरिरहेका छन् ।