
लगातार वढ्दो रेमिट्यान्स, विदेशी विनिमय सञ्चितिमा पनि वृद्धि
केही समययता वैदेशिक रेमिट्यान्स बढ्दो छ । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको गत माघको आर्थिक तथा वित्तीय प्रतिवेदनअनुसार सात महिनामा ९ खर्ब ५८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो ७.३ प्रतिशतको वृद्धि हो ।
पछिल्लो डेढ वर्षयता हरेक महिना एक खर्बभन्दा बढी रेमिट्यान्स भित्रिइरहेको छ । यही कारण विदेशी मुद्राका अन्य स्रोत निर्यात, पर्यटन, विदेशी लगानी, विदेशी अनुदान तथा सहायताको अवस्था नाजुक हुँदा पनि अर्थतन्त्रका बाह्य सूचक निरन्तर बलियो बन्दै गएका हुन् ।
गत माघसम्मको विदेशी मुद्रा सञ्चिति २३ खर्ब ६९ अर्ब ८ करोड पुगेको छ । गत माघसम्मको सञ्चिति २०८१ असारको तुलनामा १६.१ प्रतिशतले बढेको हो । गत असार मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड थियो । चालु वर्षको सात महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.२ महिनाको वस्तु आयात र १४.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने दाबी राष्ट्र बैंकको छ ।
२०८०/८१ मा रेमिट्यान्स आप्रवाह १६.५ प्रतिशतले बढेर १४ खर्ब ४५ अर्ब ३२ करोड पुगेको थियो । अघिल्लो वर्ष आप्रवाह २३.२ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीमा जानेको संख्या पनि बढ्दो छ ।
