अन्ततः केआईआईटीले माग्यो माफी, दोषीलाई कार्वाही र पुनः परीक्षाको प्रतिबद्धता

मूलखबर संवाददाता
काठमाडौं, ७ फागुन ।

भारतीय राज्य ओडिसाको भुवनेश्वरस्थित चर्चीत कलेज कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले विद्यार्थी तथा अभिभावकसँग माफी मागेको छ ।
नेपाली विद्यार्थीको शंकास्पद मृत्युको अनुसन्धान र न्यायको माग गर्ने विद्यार्थीमाथि दमन भएको घटनामा भारतीय राज्य ओडिसाको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले विद्यार्थी तथा अभिभावकसँग माफी मागेको हो ।

न्याय माग गर्दै प्रदर्शनमा उत्रिएका नेपाली विद्यार्थीलाई प्रशासनले तत्काल होस्टेल छाड्न आदेशसमेत दिएको थियो । घटनाको चौतर्फी विरोध र नेपालका साथै भारतभित्रबाटै दबाब बढाइएपछि केआईआईटीले माफी मागेको हो ।

नेपाली विद्यार्थीको शंकास्पद मृत्युको अनुसन्धान र न्यायको माग गर्ने विद्यार्थीमाथि दमन भएको घटनामा भारतीय राज्य ओडिसाको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले विद्यार्थी तथा अभिभावकसँग माफी मागेको छ ।

कलेजका संस्थापक, उपकुलपति र रजिस्ट्रारले उत्पन्न परिस्थितिप्रति दुःख व्यक्त गर्नुका साथै क्षमा मागेका छन् । त्यसपछि क्रमशः नेपाली विद्यार्थी कलेज फर्किन थालेका हुन् । कलेजका संस्थापक अच्युत सामन्तले परराष्ट्रमन्त्री आरजु राणा देउवा र नयाँदिल्लीस्थित नेपाली राजदूत शंकरप्रसाद शर्मासँगको टेलिफोन कुराकानीमा घटनाप्रति दुःख व्यक्त गर्दै नेपाली विद्यार्थीले उठाएका विषय र शैक्षिक समस्या सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।

‘नेपाली विद्यार्थीले उठाएका सवाललाई सम्भव भएसम्मका सबैजसो माग पूरा गरिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ,’ राजदूत शर्माले भने, ‘विद्यार्थीसँग अभद्र व्यवहार गर्ने शिक्षक तथा कर्मचारीलाई निलम्बन गरिएको, कुटपिट गर्ने सुरक्षा गार्डलाई कानुनी कारबाहीमा पठाइएको भन्नुभएको छ । पुनः परीक्षा र अतिरिक्त कक्षाको प्रतिबद्धता पनि जनाउनुभएको छ ।’