
६ वटा अध्यादेशविरुद्ध ५१ वटा विरोधका सूचना एकसाथ निर्णयार्थ प्रस्तुत गरिने
अध्यादेशविरुद्ध परेका विरोध सूचनालाई संसदको बैठकमा एकसाथ निर्णयार्थ प्रस्तुत गरिने भएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा अध्यादेशमाथि परेका विरोधका सूचनाहरु एकैसाथ प्रस्तुत गर्ने निर्णय भएको हो ।
संसद्मा विचाराधीन विधेयक र पेस भएका अध्यादेशका सम्बन्धमा प्रमुख दलका सचेतकसँग सभामुख देवराज घिमिरेले गरेको छलफलका क्रममा अध्यादेशविरुद्ध परेका विरोध सूचनालाई एकसाथ निर्णयार्थ प्रस्तुत गर्ने सहमति भएको हो ।
विभिन्न ६ वटा अध्यादेशविरुद्ध ५१ वटा विरोधका सूचना दर्ता भएका छन् । ६ वटा अध्यादेशमध्ये प्रत्येक अध्यादेशमाथि परेका विरोधका सूचनामाथि छलफल हुने र एकसाथ निर्णयार्थ प्रस्तुत हुने सहमति भएको हो ।
प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसो १ बजे बोलाइएको छ ।
