संवैधानिक राष्ट्रपतिकाे असंवैधानिक बोली, चौतर्फी आलोचना
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको मर्म र भावनाप्रतिकुल हुनेगरी गम्भीर अभिव्यक्ति दिएका छन् । उनले माओवादी सशस्त्र जनयुद्धको कारण देश ५० वर्ष पछाडि धकेलिएको विवादास्पद अभिव्यक्ति दिएका छन् ।
लमजुङको मध्येनेपाल नगरपालिका वडा नं ३ मा रहेको मंगला माध्यमिक विद्यालयको हिरक जयन्तीमा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले माओवादीको नाम नलिइकनै भने –१२ वर्षे सशस्त्र द्वन्द्व र हिंसाले मुलकलाई ५० पछाडि धकेलेको छ । राष्ट्रपति जस्तो व्यक्तिले त्यसरी बोलेपछि सहभागि विद्यार्थी र शिक्षकमात्रै होइन सुरक्षाकर्मीहरुसमेत कानेखुसी गरेका थिए । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्र पाण्डेसहित कायक्रममा पुगेका राष्ट्रपति पौडेलले लिखीत संवोधन गरेका थिए ।
नेपालको संविधानमा राष्ट्रपतिलाई मुलुकको अभिभावक र संविधानको संरक्षक भनिएको छ । उनले विवाद हुनेगरी कुनै पनि विचार वा धारणा राख्न पाउने व्यवस्था छैन । नेपालको राजनीतिक परिवर्तनमा माओवादी जनयुद्धको भुमिकालाई संविधानमा सकारात्मक रूपले उल्लेख गरिएको छ । नेपालको राजनीतिक, सामाजिक रूपान्तरणको लागि सशस्त्र युद्व, जनआन्दोलनलगायतका संघर्ष भएको कुरा संविधानको प्रस्तावनामा स्पष्ट रूपमा उल्लेख गरिएको छ ।
रामचन्द्र पौडेल राष्ट्रपति बन्नुमा जनयुद्धकै भुमिका रहेको छ । जनयुद्धकै कारण नेपालको २४० वर्षे राजतन्त्रात्मक जहानियाँ शासन अन्तय भएपछि मात्रै जनताको छोराछोरी राष्ट्रपति हुने व्यवस्था कायम भएको हो । उनलाई राष्ट्रपति बनाउन त्यही माओवादी जनयुद्धका संचालक पुष्पकमल दाहाल प्रचण्डको रोल छ । यदि प्रचण्डले नचाहेका भए पौडेल राष्ट्रपति हुन पाउने थिएनन् ।
राष्ट्रपति पौडेलले आफूलाई माओवादी र प्रचण्डले लगाएको गुन भुलेर सार्वजनीक रुपमै जनयुद्धको अपमान गरेपछि उनीलाई बैगुनी मात्रै भनेर चर्चा गरिएको छैन, उनको सो अभिव्यक्ति संविधानको मर्म र भावनाविपरित भएकाले सो विषयमा महाअभियोग लगाउनुपर्ने टिप्पणी समेत शुरु भएको छ ।