वर्तमान सरकार पुर्ण रूपमा असफल : राप्रपा

मूलखबर संवाददाता
काठमाडौं, १४ माघ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वर्तमान सरकार पूर्णतः असफल भएको निष्कर्ष निकालेको छ ।

,केन्द्रीय कार्य समिति बैठकले एमाले–कांग्रेस गठनबन्धन सरकार पूर्णतः असफल भएको निष्कर्ष निकालेको हो ।

मुलुकभित्र पर्याप्त रोजगारी सिर्जन गर्ने, मूल्यबृद्धि नियन्त्रण गर्ने, विकास निर्माणलाई तीव्रता दिने काममा सरकार पूर्णतः असफल भएको छ । भ्रष्टाचारजन्य गतिविधि र भ्रष्टाचारीलाई सरकारबाटै संरक्षण प्राप्त हुनु आपत्तिजनक र उदेकलाग्दो छ’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

प्रवक्ता मोहनकुमार श्रेष्ठले जारी गरेको १६ बुँदे बक्तव्यका अधिकांश बुँदा सरकार असफल रहेको पुष्टि गर्न खर्चिएको छ । ‘राजनीतिक दल सम्बन्धी ऐनमा संशोधन गरेर मुलुकलाई दुई दलीय व्यवस्थातर्फ लैजाने सत्ता पक्षीय नेताहरूको बारम्बारको धम्की एवं हठात र अनायास संसद छलेर अध्यादेश ल्याइनु दुई दलीय सर्वसत्तावादको प्रारम्भिक अभ्यासकाे रूपमा रहेको छ भनिएको छ ।

आम जनताको चाहना बमोजिम राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माण अभियानलाई तीब्रता दिन, राजनीतिक स्थिरता प्रदान गर्न तथा राजनीतिक स्थायित्वकै लागि संविधान संशोधन र तदनुकुलको कानुन निर्माणलाई प्राथमिकता दिने भन्दै सातबुँदे सहमतिमार्फत गठन भएको एमाले–कांग्रेसको गठबन्धन सरकार, सरकार निर्माणको आफ्नो उद्देश्यबाट च्युत भएको राप्रपाको निश्कर्ष रहेको छ ।

राप्रपाले भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्ने, अर्थतन्त्रमा विद्यमान शिथिलतालाई अन्त्य गरी विश्वसनीय व्यवसायिक वातावरण तयारी गरी आर्थिक गतिविधिलाई चलायमान बनाउने, आन्तरिक र बाह्य लगानीलाई प्रोत्साहन गरी मुलुकभित्र पर्याप्त रोजगारी सिर्जना गर्ने, मूल्यवृद्धि नियन्त्रण गर्ने, विकास निर्माणलाई तिव्रता दिने काममा सरकार पूर्णतः असफल भएको भन्दै भ्रष्टाचारजन्य गतिविधि र भ्रष्टाचारीलाई सरकारबाटै संरक्षण प्राप्त हुनु आपत्तिजनक र उदेकलाग्दो भएको निष्कर्ष निकालेको छ ।