अखिल क्रान्तिकारीकाे नेतृत्वको लागि शनिवार निर्वाचन, तयारी पुरा
नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयनका लागि शनिबार निर्वाचन हुँदैछ ।
निर्वाचनमा ३२ वर्षे उमेरहदका कारण चार सय बढी नेताहरू रिटायर्ड भएपछि दाेस्राे पुस्ताका नेताहरू पदाधिकारी पदमा उमेदवार बनेका छन् ।
गत असोज दोस्रो साता २३ औँ राष्ट्रिय सम्मेलन गरेर निर्वाचनमा जाँदा उमेर हद विवादका कारण हुन नसकेको निर्वाचन माघ १२ गते हुन लागेको हो ।
अध्यक्ष पदका लागि उपदेश यादव, विजयप्रकाश सापकोटा, सुदिन पौडेल, हेमन्त राई, योगेन्द्र बुढा र विश्वमणि थापा सहितका ६ जनाले उम्मेदवारी दिएका थिए । अध्यक्षका ६ जना उम्मेदवारमध्ये एक जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
यस्तै महासचिवका ९ जना उम्मेदवारमा एक जनाले पनि उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन समितिका अनुसार अध्यक्षका उम्मेदवार विश्वमणि थापा र महासचिवका उम्मेदवार गोविन्द बानियाले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।
अब अध्यक्षका लागि उपदेश यादव, योगेन्द्रबहादुर बुढा, विजयप्रकाश शर्मा सापकोटा, सुदिन पौडेल र हेमन्त राईबीच प्रतिस्पर्धा हुनेछ ।
यस्तै महासचिवका लागि तिर्सना हमाल, पदमप्रसाद काफ्ले, प्रतिक कार्की, रोशन थापामगर, शिव बस्नेत, श्यामबहादुर मिजार, सञ्जयकुमार महतो र सञ्जिव फुँयालविच प्रतिस्पर्धा हुने भएको छ ।
निर्वाचन समितिले शुक्रवार बहिान ९ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय दिएकोमा उक्त समयमा अध्यक्षका एक र महासचिवका एक उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानले जानकारी दिए ।
क्रान्तिकारीमा ३२ वर्षे उमेर हद लगाएपछि पुराना विद्यार्थी नेता सबै बिदा भएसँगै पञ्चा सिंह नेतृत्वको केन्द्रीय समितिका उपमहासचिवभन्दा तलका मात्र बाँकी रहेका छन् । उनीहरु नै अहिले अध्यक्ष र पदाधिकारीका दाबेदार हुन् ।
‘