
काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढ्यो
अत्यधिक चिसो भएसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण पनि बढेको छ ।
‘एयर क्वालिटी इन्डेक्स’ (एक्युआई)का अनुसार आज काठमाडौँ उपत्यकाको वायु प्रदूषण दुई सय पाँच एक्युआई छ । वातावरणविद् भूषण तुलाधारका अनुसार गर्मीयामको तुलनामा चिसो मौसममा वायु प्रदूषणको सम्भावना बढी हुन्छ । “चिसो मौसममा हावा जमिनकै सतहमा लामो समयसम्म रहने भएकाले प्रदूषणको सम्भावना बढी हुन्छ, दिउँसो घाम लागेर तापक्रम बढ्दै जाँदा हावामा प्रदूषण फैलिन्छ”, उहाँले भन्नुभयो । त्यसबाहेक चिसोमा फोहोर, टायर तथा दाउरा जलाउने चलनले पनि प्रदूषण बढाउन सहयोग गर्ने उहाँको भनाइ छ ।
एक्युआईका अनुसार आज काठमाडौँ उपत्यका विश्वको पाँचौँ प्रदूषित सहरमा परेको छ । उक्त सूचीको शीर्षस्थानमा पाकिस्तानको लाहोर छ । लाहोरको एक्युआई तीन सय ४१ एक्युआई छ ।
साथै दोस्रो स्थानमा रहेको भारतको कोलकातको एक्युआई दुई सय ४८, तेस्रो स्थानमा मङ्गोलियाको उलानबाटरको एक्युआई दुई सय ३८ छ । साथै चौथो स्थानमा रहेको प्रदूषित सहर भारतको नयाँ दिल्लीको एक्युआई दुई सय २७ एक्यूआई छ ।
काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि नेपाल सरकारले निर्धारण गरेको एक्युआईको मान तीन सयभन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख गरेको छ । उक्त विपद् रोक्नका लागि कार्ययोजनामा फोहोर बाल्ने कार्य रोक्ने, सडक सफा गर्न ब्रुमर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीहरुलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्ने कार्ययोजनामा उल्लेख गरिएको छ ।
