
जाडोमा कुकुरलाई न्यानो घर
वीरगन्जमा सडकका छाडा कुकुर (सामुदायिक कुकुर)हरू बस्नका लागि अस्थायी घरको व्यवस्था गरिएको छ।
अहिलेको चिसो र शीतलहरले प्रभावित भइरहेका सडकका कुकुरहरूलाई बस्नका लागि वडा नम्बर १० का विभिन्न स्थानमा कुकुर बस्ने घरहरूको व्यवस्था गरिएको हो।
सोमबार वडाका विभिन्न सात स्थानमा प्लास्टिकको ड्रममा न्यानोका लागि जुटको बोराभित्र पराल भरेर कुकुरहरूलाई बस्ने व्यवस्था गरिएको वीरगन्ज महानगरपालिका-१० मा वडाध्यक्ष सुशील साह कानुले बताए। अबको तीन चार दिनपछि सडकका कुकुरहरूलाई चिसोबाट राहत दिन डग हाउस नै निर्माण गरेर ठाउँ ठाउँमा राखिने बताउँदै कानुले त्यसका लागि काम पनि सुरु गरिसकिएको बताएका छन्।
दाताहरुबाट अहिलेसम्म ३० वटा प्लास्टिकको ड्रम प्राप्त भइसकेको भन्दै वडाध्यक्ष कानुले भने,‘जहाँ जहाँ कुकुरको संख्या कम देखिन्छ त्यहाँ ड्रम राख्न थालेका छौं। अनि जहाँ जहाँ कुकुरको संख्या बढी देखिन्छ त्यहाँ अस्थायी घरजस्तै डग हाउस नै बनाएर राख्छौं।
ड्रममा तीन देखि चार वटा र डग हाउसमा सात देखि आठ वटा कुकुर बस्न सक्छन्।’
