सुशासनको आवाज उठाउनेहरुलाई नडामी भ्रष्टहरुको स्वराज चल्दैन

मूलखबर संवाददाता
काठमाडौं, १८ पुस

नेकपा माओवादी केन्द्रका युवा नेता तथा वागमती प्रदेश अध्यक्ष सरल सहयात्री पाैडेलले सुशासनको आवाज उठाउनेहरूलाई भ्रष्टाचारीहरूले डामीरहेकाे टिप्पणी गरेका छन् ।

क्यान्टोनमेन्टदेखि हालसम्म पनि अनेकौं फण्डा बनाएर माओवादी विरूद्व भ्रष्टहरूले आक्रमण गरिरहेका उनलेे दावी गरेका छन् ।

नुवाकोटको शेरा दरबारको बारेमा माओवादी अध्यक्ष प्रचण्डलाई जाेडेर अनावश्यक भ्रम सिर्जना गरिएको बताउँदै उनलेे आराेप लगाउनेले आफ्नो अनुहार नहेरी माओवादीलाई बदनाम गरिरहेका बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पाैडेलले भनेका छन् –

शुसासनको आवाज उठाउनेहरुलाई नडामी भ्रष्टाचारीहरुको स्वराज चल्दैन । जसरी ‘क्यन्टोनमेन्ट घोटाला’ माओवादीलाई हुईया मच्चाएर खेद्ने एक बिषय बनाईएको थियो, त्यसैगरी शेरा दरबार जग्गा प्रकरण- ‘’हामी मात्रै हो र तिमी पनि उस्तै त हौ’’ भनेर सावित गर्न दुश्प्रयास गर्ने भ्रष्टाचारीका प्रत्यक्ष-अप्रत्यक्ष मतियारहरुको प्रपंच हो ।

माओवादी पार्टी र अध्यक्ष कमरेड प्रचण्डले खुल्ला अपिल गरिसक्नुभयो- ‘शेरा दरबारको जग्गा सरकारको नाममा ल्याउन सरकारले पहल गरोस दोषिलाई कार्बाही गरोस । यसमा माओबादी केन्द्र कसैको संरक्षणमा लाग्दैन’। माओबादी त्यस्तो पार्टी होइन जसले जापानमा आफ्ना नागरिक बेच्ने मन्त्रीलाई निर्दोष देख्छ, नेपालीलाई भुटानी बनाएर मानब तस्करी गर्नेलाई पखाल्ने कुकार्य गर्छ, सहकारी ठगहरुको हुललाई खोकिलामा हालेर एकदुईजना बबुराहरुलाई मार हान्छ, कोरोनाले आम नागरिक हताहत भएर आतंकित भएको बेला लासका चाङमाथी कमिसन घिच्छ………….। अरुलाई हिलो छ्यापेर आफु सफा भैदैन । आफुले आफुलाई पखाल्नुस । अनुहारमा छ्याप्प बसेको भ्रष्ट दागको उपचार गर्नुस ।