शेरा जग्गाबारे प्रचण्डको भनाई : कानून विपरित भए सरकारले फिर्ता ल्याउनुपर्छ
प्रमूख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले नुवाकोट विदुरस्थित शेरा दरबारको जग्गाका सम्बन्धमा कानुन विपरीत भएमा सरकारले फिर्ता ल्याउनुपर्ने बताएका छन् ।
संसदको राज्य व्यवस्था समितिको बैठकमा सांसदहरुले उठाएको प्रश्नमा धारणा राख्दै प्रचण्डले भनेका छन्– ‘शेरा दरबारको जग्गाबारे कानुन विपरीत काम भएको छ भने फिर्ता ल्याइयोस, म सरकारलाई धन्यवाद भन्छु’ ।
बैठकमा एमाले सांसद बासुदेव घिमिरेले शेरा दरबारको जग्गाबारे गृहमन्त्री रमेश लेखकसँग जवाफ मागेका थिए । ‘शेरा दरबारबारे भएको के हो, गृहमन्त्रीले स्पष्ट गर्न आवश्यक छ’, एमाले सांसद घिमिरेले भनेका थिए ।
गृहमन्त्रीले अन्तिममा जवाफ दिने बताएपछि प्रचण्डले अख्तियार एन संशोधन विधेयक र एमाले सांसद घिमिरेले उठाएको विषयमा आफ्नो धारणा राखेका हुन् ।
शेरा दरबारबारे प्रचण्ड र परिवारसँग जोडेर नियमित प्रचार भइरहेको सन्दर्भमा यस अघि नै प्रचण्ड सचिवालयले यस प्रचारको खण्डन गर्दे सत्य तथ्य छानवीन गर्न माग गरेको थियो भने स्वयं प्रचण्डले पनि झापा लगायतका विभिन्न कार्यक्रममा शेरा दरबारको विषयमा कानून विपरित काम भएको भएमा छानवीन गरी तत्काल कार्वाही गर्न सरकरालाई सुझाव दिएका थिए ।