
अखिल क्रान्तिकारीमा उमेर हद लागु, निर्वाचनबाट आयो यस्तो परिणाम
क्रान्तिकारी विद्यार्थीहरुको संगठन अखिल क्रान्तिकारीमा ३२ वर्षे उमेरहद लागु हुने भएको छ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीमा उमेर हद लागु गर्ने की खुला गर्ने भन्ने विषयमा भएको मतदानमा उमेर हद लागु गर्नुपर्ने भन्ने पक्षले जितेपछि उमेर हद लागु हुने भएको हो ।
आइतबार राति अबेर सार्वजनिक नतिजाअनुसार उमेर हदको पक्षमा ९०० र खुला राख्ने पक्षमा ८७९ मत आएको प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानले जानकारी दिए । जसअनुसार उमेर हद लगाउने पक्षमा २१ मत बढी परेकाले उमेर हद लगाउने मतको पक्ष मत विजयी भएको प्रधानले जानकारी दिए ।
३२ वर्षमुनिबाट नेतृत्व चयन गर्नका लागि हुने अखिल क्रान्तिकारीको निर्वाचन अब माघ १२ गतेमात्रै हुने भएको छ । यसअघि पुस १७ गते निर्वाचन हुने भनिएकामा केन्द्रीय निर्वाचन समितिले मतदान हुने मिति सार्ने निर्णय गरेको हो।
‘निर्वाचनको कार्यक्रम २०८१ पौष १५ गते मनोनयन दर्ता गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएकोमा विशेष कारणबस उक्त कार्य तालिका संशोधन गरी निर्वाचन समितिको आज बसेको बैठकको निर्णय अनुसार आगामी २०८१ माघ ५ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने प्रक्रिया सुरु गरी मतदान कार्य आगामी २०८१ माघ १२ गते शनिवारका लागि तोकिएको छ,’ प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानले जारी गरेको सूचनामा उल्लेख छ ।
उमेरहद लागु हुने भएपछि अधिकांश पदाधिकारीका दावेदारहरु बाहिरनिे सम्भावना देखिएको छ । मुख्य गरेर अध्यक्षको आकांक्षी रहेका उपाध्यक्षहरुबाट प्रविना अधिकारी मात्र अध्यक्षमा उम्मेदवार बन्न पाउने एक विद्यार्थी नेताले जानकारी दिए ।
उनका अनुसार अध्यक्षका दाबेदार रहेका निवर्तमान उपाध्यक्षहरू इन्द्र भुसाल, जीपी मैनाली, तुकमान महरा, मिलन एम।सी, लक्ष्मीप्रसाद जोशी, नरेश रेग्मी, गजेन्द्रप्रसाद देव, राजकुमार याक्खो, मदन भुल, मदन भट्टराई, सूर्यनारायण साह, पवन कार्की, क्षितिज सापकोटा, नारायण खनाल, अम्बरराज शाही, अच्युत भट्ट, केशव रावल उमेरहदका कारण बाहिरीने भएका छन् । निवर्तमान महासचिव दीपेश पुन पनि उमेरहदका कारण बिदा हुने भएका छन् ।
