काठमाडौं महानगरकाे निर्देशनपछि विदेशी नाम फेर्दै विद्यालय, कसले के नाम राखे ?
काठमाडौं महानगरपालिकाभित्रका निजी विद्यालयले नेपालीपन झल्कने गरी नाम परिवर्तन गर्न थालेका छन् । काठमाडौं महानगरपालिकाको निर्देशनपछि उनीहरूले मौलिक नाम राख्न थालेका हुन् ।
महानगरभित्रका २० वटा विद्यालयले विदेशी नाम हटाएर मौलिक नाम राख्न प्रस्ताव गरेका छन् ।
महानगरकाे शिक्षा विभागका अनुसार लिटर वोन्डर्स स्कुलले लम्बोदर स्कुल, हारती शिक्षा मन्दिरले गुरुकुलम स्कुल, वल्डरकिंग्सले वितारा बालग्राम, इन्टरनल लाइट पब्लिक हाई स्कुलले वेदश्री पाठशाला, कोलम्बस इन्टरनेसनल स्कुलले मेधाश्री विद्यालय, मनास्लु पब्लिक स्कुलले मनास्लु स्कुल नाम राख्ने प्रस्ताव गरेका छन् ।
त्यस्तै, न्यु सनसाइन इंग्लिस बोर्डिङ स्कुलले रुद्रमति पाठशाला, किंग्स टाउन स्कुलले सम्पदा पाठशाला, न्यु नलेज इंग्लिस स्कुलले नवज्ञान पाठशाला, मिला एकेडेमीले यज्ञभूमि स्कुल, काठमाडौं युरो स्कुलले कादम्बरी विद्यालय नाम राख्न प्रक्रिया अघि बढाएका छन् ।
टोडलर्स स्कुलले समर्पण विद्या सदन, दक्षता इन्टरनेसनल स्कुलले दक्षता स्कुल, डिभाइन वड्स एजुकेसन एकेडेमीले दिव्य कोपिला स्कुल, दी इम्पेरियल एकेडेमीले म्हेपी देवी मावि, हार्माेनी मन्टेस्वरी हलिमेन्ट्री स्कुलले कल्पवृक्ष शिक्षा सदन, ब्रिटिस गोर्खा एकेडेमीले गोर्खा हाई स्कुल र गोल्डेन गार्डेन इन्टरनेसनल एकेडेमीले स्वर्णिम वाटिका सेकेन्डरी स्कुल राख्न लागेका छन् ।
महानगरपालिकाले एक वर्षअघि नै यस्तो निर्देशन दिएकोमा हालै कार्यान्वयन हुन लागेको हो । १८ वटा निजी र दुईवटा गुठीअन्तर्गत सञ्चालित विद्यालयले नाम फेर्नका लागि निवेदन दिएका हुन् । महानगरले दाबी विरोधका लागि सूचना प्रकाशन गरेको छ ।
गुठीअन्तर्गत सञ्चालित क्यापिटल हिल एकेडेमीले क्षेत्रज्ञ विद्यापीठ तथा हार्टल्यान्ड चिल्ड्रेन एकेडेमीले हृदय निकेतन मावि राख्ने प्रक्रिया अघि बढाएका छन् ।
महानगरपालिकाको विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ मा नेपालीपन झल्कने गरी नामकरण गर्नुपर्ने व्यवस्था छ । साथै, नाममा इन्टरनेसनल राख्न विदेशी विद्यार्थी अनिवार्य चाहिने प्रावधान छ । नियमावली कार्यान्वयन गर्न थालिएको महानगरले जनाएको छ । सो निर्देशन नमान्ने विद्यालयलाई आगामी शैक्षिक वर्षमा भर्नामा रोक लगाउनेलगायत कारबाही गर्ने महानगरको तयारी रहेको खबर नयाँ पत्रिकामा छ ।