एमालेनिकट विद्यार्थीकाे धर्नाले त्रिवि अस्तव्यस्त, उपकुलपति बराल कार्यलय जानै छाडे
त्रिभुवन विश्वविद्यालयका उपकुलपति निरन्तर वर्तमान सरकारका प्रधानमन्त्रीकाे ताराे बन्दै आइरहेका खबर आइरहेका बेला एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले कार्यालय घेराउसँगै अवरोध गरेपछि त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बराल कार्यालय जानै छाडेका छन् । ३५ सूत्रीय माग राख्दै अनेरास्ववियुले अवरोध गरेपछि २६ मंसिरदेखि बराल कार्यालय जान छाडेका हुन् ।
बरालले आफ्नो कार्यालयअगाडि विद्यार्थीले घेराउ गरेपछि अन्य पदाधिकारी तथा त्रिवि कन्ट्रोलरको कार्यकक्षमा बसेर काम गर्ने गरेका छन् भने कहिलेकाहीँ घरबाटै पनि काम गर्दै आइरहेका छन् । गत आइतबार डिन तथा महानिर्देशक नियुक्तिको काम गर्दा पनि उपकुलपति बराल रजिस्ट्रार र रेक्टरको कार्यालयमा बसेका थिए ।
उपकुलपति बरालविरुद्ध धर्ना तथा घेराउको नेतृत्व एमालेनिकट विद्यार्थी नेता तथा त्रिविका स्ववियु सचिव सिद्धान्त भट्टले गरेका छन् । उनीसहित केही विद्यार्थीले उनीमाथि मात्रै दोष थुपार्दै अवरोध गरेपछि उपकुलपतिको काममा बाधा पुगेको छ । उनीहरूले उपकुलपति कार्यालयअगाडि मागसहित कालो ब्यानर टाँसेका छन् । उपकुलपति बरालले अवरोधका कारण आफू कार्यालय जान नसकेको बताए ।
‘मेरो अफिसअगाडि विद्यार्थीले धर्ना दिइरहेका छन् । उहाँहरूका माग पूरा गर्ने पनि भनेको हो, तर उहाँहरूले धर्ना दिएपछि कार्यालय जान सकिरहेको छैन,’ उपकुलपति बरालले भने ।
कुलपति प्रधानमन्त्री केपी ओलीसमक्ष भने अनेरास्ववियुले कुनै पनि माग राखेको छैन । गत बिहीबार बसेको त्रिवि सभाको साधारण बैठकमा समेत विद्यार्थी नेता भट्टलगायतले प्रधानमन्त्रीसमक्ष त्रिविका समस्या समाधानबारे कुनै माग राखेनन् । तर, राजनीतिक प्रतिशोधका आधारमा उपकुलपतिलाई अप्ठ्यारो पार्न लागिपरेको उपकुलपति कार्यालय स्रोतले बतायो । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आफ्नै त्रिवि कार्यालय अस्तव्यस्त बनाउने आफ्नै संगठनका नेताहरूलाई कुनै निर्देशन दिएका छैनन् । रजिस्ट्रार, रेक्टरलगायतले पनि विद्यार्थीबाट भएको अवरोध फुकाउन पहल नगरेका खबर नयाँ पत्रिकामा छ।