
रास्वपा सभापति लामिछाने विरूद्व २७ कराेड विगाेसहित मुद्वा तयार, के गर्ला रास्वपा ?
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध २७ करोड ८९ लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गर्न प्रहरीले सरकारी वकिल कार्यालयलाई सिफारिस गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले करिब तीन महिना लामो समय लगाएर गरेको अनुसन्धान प्रतिवेदन सोमबार रायसहित सरकारी वकिललाई बुझाएको हो ।
प्रतिवेदनमा सूर्यदर्शन सहकारीको एक अर्ब ५१ करोड हिनामिना भएको र त्यसमध्ये २७ करोड ८९ लाख रुपैयाँ गोर्खा मिडियामा गएकाले त्यसको भागिदार लामिछानेलाई बनाउन सिफारिस भएको छ । सहकारीमा लैजाने प्रक्रियामा लामिछानेको संलग्नता नभएपनि खर्च गर्नेमा उनी संलग्न रहेको भन्दै सहकारीबाट गएको सबै रकमको भागिदार उनलाई बनाउन लागिएको छ ।
प्रहरीले यसमा ५१ जनाविरुद्ध मुद्दा दायरको सिफारिस गरेको छ ।
लामिछानेसहित ५० जनाविरुद्ध सहकारी ठगीका साथै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुर चलाउन लागिएको छ भने जिबी राईलाई भने क्रिप्टो करेन्सीको कारोबारको अभियोग पनि थप्ने प्रहरी तयारी छ ।
लामिछाने गोर्खा मिडियाको सञ्चालक हुँदा चेक काटेर पैसा खर्च गर्ने भूमिकामा रहेको भन्दै उनलाई दुई महिनादेखि थुनामा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ । रास्वपाले भने राजनीतिक प्रतिशोधका आधारमा उनलाई थुनामा राखिएको दाबी गरेको खबर नयाँ पत्रिकामा छ ।
