सत्ता गठबन्धन परास्त गर्दै प्रेस सेन्टरले जित्याे ३ प्रदेश र १५ जिल्लाकाे नेतृत्व

मूलखबर संवाददाता
काठमाडौं, २९ मंसिर

नेपाल पत्रकार महासंघकाे निर्वाचनमा सत्ता गठबन्धनलाई परास्त गर्दै प्रेस सेन्टरले ३ प्रदेश र १५ जिल्ला जित्न सफल भएको छ ।  सत्तारूढ कांग्रेस निकट प्रेस युनियन र एमाले निकट प्रेस चाैतारीकाे गठबन्धनलाई पराजित गर्दै  प्रेस सेन्टरले  उपत्यका प्रदेश सहित बागमती र एसाेसियट प्रदेशकाे नेतृत्व र १५ वटा जिल्लामा विजय हासिल गरेको हाे ।

केन्द्रमा भने सत्तारूढ दल सम्बद्व गठबन्धनले नेतृत्व जितेकाे छ । केन्द्रीय अध्यक्षमा युनियन चाैतारीकाे गठबन्धनबाट निर्मला शर्माले जित हात पारेकी छिन् ।  सात दशक लामो इतिहासमा पहिलोपटक महिलाको नेतृत्व पाउने पक्का भएको छ । प्रेस युनियन र प्रेस चौतारीको गठबन्धनबाट निर्मला शर्मा अध्यक्ष बन्ने सुनिश्चित भएको हो ।

शर्मासँगै अध्यक्षका लागि रमेश विष्ट, देवीप्रसाद सापकोटा र लालसिंह लामा प्रतिस्पर्धामा थिए । शर्माका निकटतम प्रतिद्वन्द्वी विष्टले प्रेस युनियनबाट विद्रोह गरेर प्रेस सेन्टर, समाजवादी प्रेस संगठनलगायतको समर्थनमा उम्मेदवारी दिएका थिए ।

महासंघ निर्वाचन केन्द्रीय समितिका अनुसार शनिबार राति ११:३० सम्मको परिणाममा शर्माले चार हजार २१७ मत ल्याएकी छिन् भने विष्टले तीन हजार १११ मत ल्याएका छन् । यतिवेलासम्म सिराहाको मतगणना बाँकी थियो । तर, शर्माले लिएको अग्रता गणना हुन बाँकी मतभन्दा धेरै छ ।

समिति संयोजक चिरञ्जीवी खनालले भने, ‘अन्तिम नतिजा घोषणा हुन समय लाग्छ । आइतबार बिहानसम्म सबै ठाउँबाट परिणाम संकलन गरिएपछि औपचारिक घोषणा हुन्छ ।’

त्यस्तै, शर्मा प्यानलकै वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, महिला उपाध्यक्षमा नीतु पण्डित, समावेशी उपाध्यक्षमा उमिद बागचन्द र महासचिवमा रामप्रसाद दाहालले पनि जित्ने लगभग निश्चितजस्तै भएको छ । कोषाध्यक्षमा भने झिनो मतले विष्ट प्यानलबाट प्रेस सेन्टरका रामकृष्ण अधिकारीको अग्रता छ । अन्तिम मतपरिणाम भने आइतबार मात्र औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी छ ।

सेन्टर नेपालको तर्फबाट उम्मेद्वार भई विजयी भएका केन्द्रीय सदस्य, प्रदेश अध्यक्ष र जिल्ला अध्यक्षहरुको नामावली :

केन्द्रीय सदस्य निर्वाचित
१. वीरेन्द्र वली (प्रतिष्ठान प्रदेश)
२. सूर्य सुवेदी (उपत्यका प्रदेश)
३. अर्जुन पन्त (उपत्यका प्रदेश)
४. रीता बुढाथोकी (निर्विरोध)
५. राजु विक (मधेस प्रदेश)

प्रदेश अध्यक्ष
१ कृष्ण सारुमगर (बागमती प्रदेश)
२. रोयल आचार्य (एशोसियट प्रदेश)
३. टेनिस रोका (उपत्यका प्रदेश)

जिल्ला अध्यक्ष
१. शोभा अर्याल (काठमाडौं)
२. खुबिना सुनारी मगर (रोल्पा)
३. रामहरि कार्की (ललितपुर)
४. गोपाल रेग्मी (रुकुम पश्चिम)
५. वसन्त बाँठा मगर (रुकुम पूर्व)
६. निर्मल घिमिरे (बर्दिया)
७. डिलाराम भुसाल (कपिलवस्तु)
८. डिल्लीराज रावत (सल्यान)
९. राम थापा (बागलुङ)
१०. पूर्णप्रसाद चौलागाईं (जुम्ला)
११. केशवप्रसाद पौडेल (रसुवा)
१२. महेश दास (महोत्तरी)
१३. अमर सुनार (दैलेख)
१४. ओमप्रकाश खनाल (पर्सा)
१५. रामहरि गजुरेल (नुवाकोट)