मेरिटाेक्रेसी नभई भागबन्डामा डीन र क्याम्पस प्रमुख बनाउन एमालेकाे दबाब
सत्तारूढ दल नेकपा एमालेले त्रिभुवन विश्वविद्यालयकाे डिन र क्याम्पस प्रमुख भागबन्डामा गर्न दबाब दिएको छ ।
प्रतिस्पर्धाबाट मेरिटमा परेकालाई डिन र क्याम्पस प्रमुख नियुक्ति गर्ने त्रिभुवन विश्वविद्यालयको प्रक्रियामा असन्तुष्टि जनाउँदै सत्तारूढ एमालेले भागबन्डा गर्न दबाब दिएको हाे । एमाले महासचिव शंकर पोखरेलले सार्वजनिक रुपमै ‘त्रिविमा निश्चित वैचारिक समूहलाई निषेध गर्ने गरी मेरिटोक्रेसीको भद्दा नाटक मञ्चन गरिएको’ आरोप लगाउँदै अहिले भइरहेको प्रक्रिया रोक्नुपर्ने बताएका थिए।
उपकुलपति केशरजंग बरालले नियुक्तिसम्बन्धी मापदण्ड निर्माण र छनोट तथा सिफारिस समिति गठन आफू अनुकूल गरेको पोखरेलको आरोप छ । ‘यतिबेला भीसी केशरजंग बराल मेरिटोक्रेसीका नाममा सोही समयको सत्तालाई नै प्रतिनिधित्व गर्ने गरी विश्वविद्यालयको प्राज्ञिक नेतृत्व चयन गर्ने योजनामा तल्लीन छन् । त्यसलाई उनले मेरिटोक्रेसीको जामा लगाइदिएका छन्,’ पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘त्यही नाटकलाई उनीनिकटका माओवादी समर्थकले धूवाँधार रूपमा पक्षपोषण र प्रशंसा गरिरहेका छन् ।’
मेरिटोक्रेसीका नाममा गरिएको भद्दा नाटक’ बन्द गर्नुपर्ने र सम्पूर्ण कामलाई खुला एवं पारदर्शी ढंगबाट विश्वविद्यालयको दीर्घकालीन हितलाई ध्यानमा राखेर अघि बढाउनुपर्ने उनको भनाइ रहेको खबर कान्तिपुरमा छ ।
त्रिविले मेडिकल, इन्जिनियरिङ, व्यवस्थापन, विज्ञान, कृषि, वन, मानविकी र शिक्षाशास्त्रसहित ८ संकायमा डिन नियुक्तिको प्रक्रिया अघि बढाएको छ ।