वाइडबडी विमान खरिदमा १ अर्ब ४७ कराेड भ्रष्टाचार ठहर, ४ जना दाेषी प्रमाणित
विशेष अदालतले नेपाल वायुसेवा निगमका लागि ८ वर्षअघि खरिद गरिएका दुईवटा वाइडबडी जहाज खरिद गर्दा १ अर्ब ४७ करोड १० लाख ८५ हजार रुपैयाँ भ्रष्टाचार भएको ठहर गरेको छ ।
अदालतले जहाज खरिदमा संलग्न निगमका तत्कालीन अध्यक्ष, महाप्रबन्धकसहित ४ जनालाई कैद सजाय तोकेको छ ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले साे फैसला गरेको हाे ।
खरिद प्रक्रियामा संलग्न विदेशी कम्पनीका प्रतिनिधिहरू पनि दोषी ठहर भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी खरिद प्रकरणमा १ अर्ब ४७ करोड १० लाख ८५ हजार रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित गत चैत २२ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
भ्रष्टाचार ठहर भएको रकम कसुरदारबाट दामासाहीले असुलउपर हुने विशेषले बिहीबार राति सार्वजनिक गरेको संक्षिप्त फैसलामा उल्लेख छ । फैसलाअनुसार निगमका तत्कालीन अध्यक्ष शंकरप्रसाद अधिकारी, महाप्रबन्धक सुगतरत्न कंसाकार तथा सञ्चालक समिति सदस्यद्वय बुद्धिसागर लामिछाने र शिशिरकुमार ढुंगाना दोषी देखिएका छन् ।
कंसाकारलाई कसुर गरेबापत २ वर्ष ६ महिना कैद सजाय हुने फैसलामा उल्लेख छ । उच्च पदमा रहँदा गरेको भ्रष्टाचारमा थप सजाय हुने कानुनी व्यवस्थाअनुसार विशेषले कंसाकारलाई थप ३ महिना कैद तोकेको छ । उनलाई १२ करोड २५ लाख ९० हजार रुपैयाँ बिगो र त्यति नै जरिवाना तिराउने फैसला छ ।
भ्रष्टाचार हुँदाका पर्यटन सचिव एवं निगममा अध्यक्ष रहेका अधिकारीलाई १ वर्ष ६ महिना कैद सजाय सुनाइएको छ । उनलाई पनि उच्च पदस्थ भएर भ्रष्टाचार गरेकामा थप तीन महिना सजाय तोकिएको छ । सचिवद्वय ढुंगाना र लामिछानेलाई भने विशेषले जनही १ वर्ष ६ महिना सजाय हुने फैसलामा उल्लेख छ । बिगो र जरिवाना भने उनीहरूलाई कंसाकारको जति नै हुने भएको छ ।