नेपालमा ९ लाख ३६ हजार ९८ परिवारमा एकल महिला
राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको एकल महिलासम्बन्धी विषयगत प्रतिवेदनले नौ लाख ३६ हजार ९८ परिवारमा कम्तीमा एकजना एकल महिला रहेको देखाएको छ । यो तथ्यांक ०७८ को जनगणनामा आधारित हो ।
तथ्यांकअनुसार नेपालका कुल ६६ लाख ६० हजार ८४१ गैरसंस्थागत घरपरिवारमध्ये ९ लाख ३६ हजार ९८ परिवारमा कम्तीमा एकजना एकल महिला छन् । तथ्यांक कार्यालयका अनुसार एकल महिला भन्नाले विधवा, सम्बन्धविच्छेद, भिन्न बसेको र ३५ वर्ष वा सोभन्दामाथिका अविवाहित महिलालाई मानिएको छ । ०७८ मा कार्यालयले जनगणनाका क्रममा गरेको अध्ययन तथा तथ्यांकअनुसार नेपालका सात लाख ९९ हजार ७४४ परिवारमा कम्तीमा एक विधवा महिला छन् । त्यस्तै, कुल परिवारमध्ये १४ प्रतिशत परिवारमा एकल महिला छन् ।
राष्ट्रिय तथ्यांक कार्यालय तथा त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभाग (सिडिपिएस) का विज्ञहरूको समूहले एकल महिला समूह (डब्ल्युएचआर) सँगको सहकार्यमा तयार गरिएको प्रतिवेदन विगतका जनगणना र सर्वेक्षणहरूका साथै संयुक्त राष्ट्रसंद्दले तयार गरेको जनगणनासम्बन्धी विभिन्न सिफारिसलाई समेत मनन गरी तथ्यांकको तुलनात्मक विश्लेषणका आधारमा तयार गरिएको हो ।
तथ्यांक कार्यालयका उप–प्रमुख डा. हेमराज रेग्मीले एकल महिलाको विषयमा तथ्यांक संकलन गर्ने प्रयास सकारात्मक भए पनि पनि यससँगसम्बन्धी मानवअधिकारमा थप अनुसन्धान आवश्यक रहेको बताए । उनले आगामी दिनमा एकल महिलाको सामाजिक, सांस्कृतिक लगायतका विभिन्न आयाममा अनुसन्धान गर्न सकिने बताए । ‘एकल महिलाको गणनात्मक तथ्यांक आउनु पनि सकारात्मक मान्नुपर्छ, तर यति नै पर्याप्त भने होइन’, उनले भने । कार्यक्रममा समावेशी आयोगका अध्यक्ष विष्णुदेवी ओझाले एकल महिलामा पनि समावेशी दृष्टिले अनुसन्धान गर्न सुझाव दिए ।
कार्यालयका निर्देशक राजन सिलवालले विधवा र अन्य एकल महिला भएका घरपरिवारका विशेषता एकै प्रकारको रहेको जानकारी दिए । उनका अनुसार एकल महिला रहेको परिवार कर्णालीमा ११ प्रतिशत र सुदूरपश्चिममा १४ प्रतिशत भेटिएको छ । ‘कम्तीमा एकजना विधवा महिला कर्णाली प्रदेशमा ११ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा १४ प्रतिशत छन् । नेपालमा ९ लाख ९७ हजार ६६२ एकल महिला छन् । दश वर्ष वा सो भन्दा माथिका कुल महिला जनसंख्यामध्ये ८.२ प्रतिशत एकल महिला छन् । तथ्यांकले विदुर २.२ प्रतिशतभन्दा विधवा महिलाको सख्या धेरै ६.६ प्रतिशत रहेको देखाएको छ,’ उनले भनेकाे खबर नयाँ पत्रिकामा छ ।