रुकुमपूर्व पुथा उत्तरगंगा उपाध्यक्षमा सत्तारूढ गठबन्धन हराउँदै माओवादीकी बुढा निर्वाचित
रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा पदमा आइतबार भएको उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार नरपुरा बुढा निर्वाचित भएकी छिन् ।
निर्वाचन आयोगले माओवादी केन्द्रका उम्मेदवार बुढाले तीन हजार ६२७ मत प्राप्त गरी निर्वाचित भएकी हुन् ।
कांग्रेसकी उम्मेदवार केशकुमारी तुलाचनले २ हजार १ सय २८ मत प्राप्त गरेकी छन् । कांग्रेस उम्मेदवार तुलाचन एमालेको महिला संगठनकी केन्द्रीय सदस्य हुन् । एमाले र कांग्रेसबीच गठबन्धन भएपछि एमालेकी नेता तुलाचन कांग्रेसको चुनाव चिह्न लिएर उम्मेदवार बनेकी हुन् ।
पालिकाभरी कुल ११ हजार १ सय ८० मतदाता रहेकोमा ५ हजार ९ सय ३१ खसेकोमा ५ हजार ७ सय ५५ मत सदर हुँदा १ सय ७६ मत बदर भएको छ । गत भदौ २८ गते बागलुङमा जिप दुर्घटना हुँदा यसअघि माओवादी केन्द्रकै तर्फबाट उम्मेदवार भएका पालिका उपाध्यक्ष भूपेन्द्रा बुढा र २ नं. वडा अध्यक्ष जसबहादुर सिर्पालीको मृत्यु भएपछि उक्त दुई पद रिक्त भएका थिए । यसपल्टको उपनिर्वाचनमा एमालेका तर्फबाट कांग्रेसको चुनाव चिह्न लिएर केशकुमारी तुलाचनलाई र माओवादी केन्द्रका तर्फबाट नरपुरा बुढालाई उम्मेदवार बनाएको थियो ।