माओवादी केन्द्र लमजुङ पालिका सम्मेलनकाे तयारीमा

मूलखबर संवाददाता
लमजुङ, ११ मंसिर

नेकपा माओवादी केन्द्र लमजुङले पालिका सम्मेलनहरूकाे तयारी गरेकाे छ ।

पार्टी केन्द्र र प्रदेश कार्यलयकाे बैठककाे निर्णय अनुसार मंसिर महिनाभित्रै सबै पालिका समितिकाे सम्मेलन विधिवत रूपमा सम्पन्न गर्ने तयारी गरिएको पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज पारसमणी पाैडेलले बताउनुभयाे ।

उहाँले सम्मेलनलाई भव्यताका साथ सम्पन्न गर्नकाे लागि पालिका समितिहरूकाे तयारी बैठक जारी रहेकाे जानकारी दिनुभयाे ।

साेमबार सुन्दरबजार नगर समितिकाे बैठक सम्पन्न भएको छ । बैठकमा केन्द्रीय सदस्य पारसमणी पाैडेल प्रमुख अतिथि रहनुभएकाे थियाे भने प्रतिनिधि सभा सदस्य तथा केन्द्रीय सदस्य उर्मिला माझी र प्रेस सेन्टर महासचिव सन्ताेष पाैडेल विशेष अतिथि रहनुभएकाे थियाे । नगर अध्यक्ष मुरारी भुजेलकाे अध्यक्षतामा सम्पन्न बैठकमा जिल्ला अध्यक्ष रामचन्द्र पाैडेल , सचिव सुनिल सुनारलगायत अतिथि रहनुभएकाे थियाे । बैठकमा उपाध्यक्ष सिर्जना बराल अधिकारीले केन्द्र र प्रदेशकाे सर्कुलर बाचन गरेर सुनाउनुभएकाे थियाे ।

पालिका बैठकहरूमा केन्द्रीय सदस्यहरू, प्रतिनिधि सभा सदस्यसमेत रहेकी पार्टी केन्द्रीय सदस्य उर्मिला माझीसमेत सहभागी हुनुभएको पार्टी जिल्ला सचिव सुनिल सुनार अटलले जानकारी दिनुभयाे ।

उहाँका अनुसार जिल्लाकाे दाेर्दी गाउँपालिका, सुन्दरबजार नगरपालिका, राइनास नगरपालिका, दुधपाेखरी गाउँपालिका, बेशिशहर नगरपालिकाकाे बैठकहरू सम्पन्न भएका छन् भने मध्य नेपालकाे आज हुँदैछ ।

बैठकहरूबाट पालिका सम्मेलनकाे मिति समेत तय भएका छन् । जिल्ला अध्यक्ष रामचन्द्र पाैडेलका अनुसार दुधपाेखरी गापाकाे मंसिर २२ गते, दाेर्दी गापाकाे मंसिर २९ गते, बेशिशहर नपाकाे मंसिर २८ गते, सुन्दरबजार नपाकाे मंसिर २६ गते सम्मेलन गर्ने निर्णय भएको छ । सम्मेलन सम्पन्न गर्नकाे लागि अहिलेका समितिहरूलाई विघटन गरिएको छ र सम्मेलन आयाेजक समितिमा रूपान्तरण गरिएको छ ।