देशमा भएकाे परिवर्तन र राम्रा कामहरू माओवादीकाे नेतृत्वमा भएका हुन् : प्रचण्ड

मूलखबर संवाददाता
काठमाडौं, ५ मंसिर

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा भएका महत्त्वपूर्ण परिवर्तन र विकासका कामहरू माओवादी नेतृत्वमा भएको बताएका छन् ।

बुधबार गोरखामा पार्टीले गरेको एक कार्यक्रममा उनले संविधान कार्यान्वयनसँगै देशमा सुशासन, उज्यालो नेपाल निर्माणलगायत महत्त्वपूर्ण काम माओवादीको नेतृत्वमा सम्भव भएको बताए ।

गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री प्रचण्डले भने, ‘एउटा ठूलो अन्धकारबाट उज्यालोतिर देशलाई लैजाने काम हामीले गर्‍यौँ, त्यो माओवादीले गरेको एक ऐतिहासिक काम हो ।’ उनले १८ घण्टासम्म लामो लोडसेडिङबाट जनता आजित भएका बेला तत्कालीन माओवादी नेतृत्वको सरकारले गरेको लिएको नीति र प्राधिकरणमा सही नेतृत्वलाई जिम्मेवारी दिएका कारण देश लोडसेडिङबाट मुक्त भएको बताए ।

माओवादीले गरेका राम्रा कामलाई जनताका बीचमा पुर्‍याउन हिचकिचाउन नहुने भन्दै उनलेे तीनै पटक माओवादीले सरकारको नेतृत्व गर्दा जनताको पक्षमा काम गरेको दाबी गरे । ‘पहिलोपटक सरकारको नेतृत्वमा रहँदा मध्यपहाडी लोकमार्गको प्रस्ताव गर्‍यौँ’, उनले भने, ‘त्यो अहिले सम्पन्न हुने अवस्थामा छ, यो माओवादीको देन हो, त्यसैपटक ३० हजारभन्दा कम ऋण हुने किसानको ऋण मुक्त गर्ने काम पनि हामीले गर्‍यौँ ।’

तेस्रो पटक सरकार रहँदा सुशासन र भ्रष्टाचारविरुद्ध इतिहासमै पहिलोपटक रेर्कड हुने किसिमले भ्रष्टाचारीमाथि कारबाही प्रक्रिया माओवादीको नेतृत्वको सरकारले गरेको प्रचण्डले  दाबी गरे ।

उनले भने, ‘सामाजिक न्याय चाहे नागरिकताको विषय होस्, चाहे मिटरब्याजीको समस्या समाधानको विषय होस्, चाहे सामाजिक सुरक्षा कोषमा विदेशमा रहेका नेपाली युवाहरू र देशभित्रका पनि श्रमिकलाई आबद्ध गर्ने कुरा होस् त्यो हाम्रो नेतृत्वको सरकारले गर्‍यो ।’