बीआरआईलाई धेरै गिजाेल्ने काम नगराैं : ज्ञवाली
नेकपा (एमाले) का उपमहासचिव एवंं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनसँग गरिएको बीआरआई सम्झौता कार्यान्वयन योजनालाई गिजोल्ने काम गर्न नहुने बताएका छन् । उपमहासचिव ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा सो सम्झौताको कार्यान्वयन योजना अघि बढाउने कुरालाई रोक्न नहुने धारणा राखेका हुन् ।
उनले सत्तारुढ नेपाली काँग्रेससँग सो योजना अघि बढाउने विषयमा मतभिन्नता रहेको भन्दै सो कुरामा प्रधानमन्त्री ओली चीन भ्रमण जानुअघि नै सत्तारुढ दुई दलबीच सहमति बन्ने विश्वास समेत व्यक्त गरे । बुधबार काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव ज्ञवालीले काँग्रेस–माओवादी नेतृत्वको सरकारको पालामा भएको सो सम्झौता अघि बढाउने विषयमा पछि हट्न नमिल्ने पनि बताए ।
काँग्रेसले सो परियोजना अन्तर्गत विगतमा गरिएको सहमति कार्यान्वयनका लागि चीनबाट अनुदान लिँदा उपयुक्त हुन्छ भन्ने धारणा राख्दै आएको छ । तर उपमहासचिव ज्ञवालीले भने चीनतर्फ संकेत गर्दै विकसित देशहरुले अहिले अनुदान सहायता दिने कुरालाई कटौती गर्दै लगेको बताए ।
‘बीआरआईको बारेमा खासगरी नेपाली काँग्रेसका कतिपय साथीहरुको अलि अगाडि नेपाली काँग्रेसले एउटा संस्थागत निर्णय गरेको कुरा हामी सबैलाई जानकारी नै छ कि बीआरआई अन्तर्गत ग्रान्ट हो भने ठिक छ । तर हामी लोन चाहीँ लिन सक्दैनौं भन्ने कुरा साथीहरुले भन्नुभएको छ । यसमा तपाईहरुले अध्ययननै गर्नुभएको छ जस्तो मलाई लागेको छ,’ ज्ञवालीले भने, ‘पहिलो कुरा त मेरो प्लेन आग्रह के छ यहाँहरुमार्फत सबै राजनीतिक दलहरुलाई भने वर्षौं लगाएर कुनै एउटा देशसँग एउटा अन्डस्टयान्डिङमा पुगिन्छ । जव कार्यान्वयन गर्ने बेला हुन्छ, त्यसपछि त्यसलाई गिजोल्ने खालको माओले यस्तै हैरान भएर होला १० चोटी नाप अनि ११ औं चोटीमा काट भनेको ।