उपनिर्वाचनका उमेदवारले दैनिक दैनिक खर्च विवरण बुझाउनु: निर्वाचन आयाेग
उपनिर्वाचनको मिति नजिकिँदै गर्दा स्थानीय तहको उपनिर्वाचनमा भाग लिने दल तथा उम्मेदवारले दैनिक रूपमै खर्च विवरण बुझाउन निर्वाचन आयाेगले निर्देशन दिएको छ । निर्वाचन आयोगले दल र उम्मेदवारहरूको दैनिक खर्च विवरण लिन जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिएको हो ।
३३ जिल्लाका ४४ स्थानमा हुने उपनिर्वाचनका लागि ४१० जनाले उम्मेदवारी दिएका छन् । तर, उम्मेदवारी फिर्ताका लागि आज (बुधबार)सम्मको समय दिइएको छ । आजै आयोगले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची छ ।
२ मंसिरदेखि आचारसंहिता लागू भइसकेको छ । आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि आयोगले जिल्लास्थित समितिलाई मंगलबार निर्देशन दिएको हो । आयोगले निर्वाचन आचारसंहिता, २०७९ को दफा ४२ बमोजिम आचारसंहिताको पालना तथा राजनीतिक दल तथा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको सम्बन्धमा नेपाल प्रहरी, अन्य सुरक्षा निकाय, कुनै कार्यालय वा व्यक्तिमार्फत आवश्यक सूचना र विवरण लिई तत्काल कारबाही गर्न भनेको छ ।
आयोगले निर्वाचन आचारसंहिता, २०७९ को परिच्छेद ४ को राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणहरू पनि स्मरण गराएको छ । ‘जुलुस, आमसभा, कोणसभा, बैठक वा भेलासम्बन्धी विषय, सवारीसाधनको प्रयोग र सञ्चारमाध्यमको प्रयोगसम्बन्धी विषय र निर्वाचन खर्चसम्बन्धी विषयमा दैनिक विवरण लिने’ आयोगले जिल्लास्थित आचारसंहिता अनुगमन समितिलाई निर्देशन गरेको छ ।