माओवादी उमेदवारकाे पक्षमा माहाेल बन्दै गएकाे निष्कर्ष, विधान र पालिकाबारे कार्यदल गठन

मूलखबर संवाददाता
काठमाडौं, ५ मंस

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले उपनिर्वाचनमा माओवादीकाे पक्षमा माहोल बन्दै गएकाे जनाएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा मंगलबार बसेको माओवादी पदाधिकारी बैठकले साे निष्कर्ष निकालेकाे हाे ।

बैठकले पार्टीको विधान सम्पादन र पालिका सम्मेलनको कार्यविधि बनाउन दुईवटा कार्यदल गठन गरेको छ ।

बैठकले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा विधान सम्पादन कार्यदल गठन गरेको हो  । उक्त कार्यदलमा महासचिव देव गुरुङ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा छन् ।

माओवादीको विधान गत फागुनमा विधान अधिवेशनले अनुमोदन गरेको थियो । अधिवेशनको क्रममा विधानमा आएका सुझावलाई समेटेर अन्तिम रुप दिने प्रतिबद्धता अध्यक्ष प्रचण्डले जनाएका थिए । त्यही विषयलाई लिपीबद्ध गरेर सम्पादन गर्न कार्यदल गठन गरिएको माओवादीले जनाएको छ ।

कार्यदलले सम्पादन गरेपछि विधान निर्वाचन आयोगमा बुझाउने तयारी छ । आयोगमा तीन महले बनाएर पठाउनु पर्ने भएकाले सम्पादनका लागि कार्यदल गठन गरिएको नेताहरूले बताएका छन् ।

पालिका सम्मेलनको कार्यविधि बनाउन अर्को कार्यदल गठन गरिएको छ । उक्त कार्यदलमा महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुन र सचिव हितराज पाण्डे छन् ।
‘विधान सम्पादन र पालिका सम्मेलनको कार्यविधि बनाउन बैठकले दुईवटा कार्यदल गठन गरेको छ । आज राजनीतिक विषयमा भन्दा प्राविधिक विषयमै छलफल भयो ।’ उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले भने ।