आज उमेदवारकाे मनाेनयन, यस्तो छ निर्वाचन कार्यतालिका

मूलखबर संवाददाता
काठमाडौं, २ मंसिर

आज मंसिर २ । अब उपनिर्वाचन हुन १४ दिन मात्रै बाँकी छ । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज आइतबार मनोनयनपत्र दर्ता हुँदैछ। उमेदवारहरूले बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा गएर आफैं वा प्रतिनिधिमार्फत उम्मेदवारको मनोनयन दर्ता गर्नुपर्ने निर्वाचन आयाेगले जनाएको छ ।

आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार  उम्मेदवारको मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको र बिहीबार नै साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ।

उपनिर्वाचनका लागि शुक्रबार ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका छन्। उपनिर्वाचन हुने स्थानीय तहमा ३२ वटा मुख्य निर्वाचन अधिकृतका कार्यालय र छवटा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएका निर्वाचन आयोगले जनाएको छ।

मंसिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मंसिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ।

मंसिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिनसक्ने छन्। सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ। मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ।