किर्तिपुर मेयरका उमेदवार शिवशरण महर्जनका २८ प्रतिवद्वता के के छन् ?

मूलखबर संवाददाता
काठमाडौं, ३०कात्तिक

आगामी मंसिर १६ गते हुने उपनिर्वाचनकाे लागि संघीय राजधानी काठमाडौं जिल्लाकाे किर्तिपुर नगरपालिकामा नेकपा माओवादी केन्द्रले उमेदवारहरूकाे घाेषणा गरिसकेको छ । जसमा मेयरकाे रूपमा उमेदवार बनेका छन् स्थापित प्राध्यापक शिवशरण महर्जन । उनी किर्तिपुरवासी मात्रै हाेइनन्, रैथाने र जनताकाे हरेक सुखदुःखमा निरन्तर सहभागी भइरहेका अब्बल समाजसेवी व्यक्ति पनि हुन् । उनलेे आफ्नो उमेदवारीकाे विषयमा २८ बुँदे प्रतिवद्वता सार्वजनिक गरेका छन् । पढाैं ।

किर्तिपुर मेयर उमेदवार शिवशरण महर्जनका प्रतिवद्वता के के छन् ?

१. स्ववासी वेनिस्सा(लालपुर्जा)को समस्या यथाशीघ्र समाधान गर्न ।
२. फोहोरमैला निःशुल्क सङ्कलन गर्न ।

३. विद्युत् र खानेपानीको न्यूनतम खपत शुल्क मिनाहा गर्न ।

४. घरघरमा खानेपानीको समानुपातिक वितरण तथा सुविधा विस्तार गर्न ।

५. नगरभित्रका सबै स्थानमा सडक सञ्जाल बिस्तार गरी कच्ची सडक रहित सहर बनाउन र यातायात सुलभ बनाउन ।

६. विष्णुदेवी अस्पताललाई भौतिक पूर्वाधारसहित तत्काल २५ शय्याको बनाई नगरवासीलाई निःशुल्क स्वास्थ्य सेवा सुनिश्चित गर्न ।

७. स्थानीय उत्पादनलाई ब्राण्डिङ गरी बजारीकरण व्यवस्थित गर्न ।

८. निर्माण सम्पन्न हुन नसकेको खेल मैदानलाई यथाशीघ्र निर्माण गरी प्रयोगमा ल्याउन ।

९. त्रि.वि. हाताभित्र शिक्षण अस्पताल निर्माण कार्य सम्पन्न गरी कीतिपुरवासीलाई सहुलियतमा उपचार सेवा उपलब्ध गराउन ।

१०. त्रि.वि. सँग समन्वय गरी हरेक क्षेत्रमा कीर्तिपुरवासीलाई निश्चित कोटाको व्यवस्था गर्न ।

११. विद्युत्को अव्यवस्थित तार तथा केवल लाइनलाई व्यवस्थित गरी नगरको मुख्य क्षेत्रमा सि. सि. टि.भि जडानसहित सुरक्षित सहर बनाउन ।

१२. नगरपालिकालाई सुशासन सहित भ्रष्टाचार मुक्त बनाउन ।

१३. महिलाहरूलाई स्वरोजगार सहित आत्मनिर्भरता सुनिश्चित गर्न दीर्घकालीन विशेष परियोजना सञ्चालन गर्न ।

१४. नगरभित्रका सबै शिक्षालयमा प्राविधिक शिक्षा लागु गरी युवाहरूलाई स्वरोजगारमुखी र स्वावलम्बी बनाउन ।

१५. पुष्पलालपार्क–चम्पादेवी हुँदै हेटौँडा जाने बाटो निर्माण गर्न ।

१६. अपाङ्गता (बौद्धिक, मानसिक र शारीरिक) भएका व्यक्तिहरूलाई पुरस्थापना गर्न । अशक्त अपाङ्गका घर घरमा स्वास्थ्य सेवा दिन ।

१७ नगरपालिका भित्रका सबै भूगोलहरूका समानुपातिक वितरण सुनिश्चित गर्न ।

१८. विकास निर्माणसँग सम्बद्ध कार्यहरूलाई सर्वपक्षीय बनाउन र पारदर्शीरुपमा परिचालन गर्न ।

१९. सतुङगल चोभार (सुख्खा बन्दरगाह) सडक निर्माण गर्न ।

२०. पर्यटन विकासका लागि सांस्कृतिक तथा जातीय संग्राहलय स्थापना गर्न ।

२१. कीर्तिपुर नगरपालिकालाई लागु औषध दुर्व्यसनमुक्त पालिका बनाउन । २२. कीर्तिपुरका युवा विद्यार्थीहरुका लागि शैक्षिक ऋण सहज उपलब्ध गर्न ।

२३. सूचना प्रविधिमैत्री कीर्तिपुर सहर निर्माण गरी युवाहरूलाई स्वरोजगारणमुखी बनाउन ।

२४. कीर्तिपुरवासी राष्ट्रियस्तरका खेलाडीहरूलाई मासिक भत्ता सुनिश्चित गर्न ।

२५. बालबालिका तथा युवाहरूलाई खेलकुद क्षेत्रमा पहुँच सुनिश्चित गर्न नगर खेलकुद परिषद् गठन गरी परिचालन गर्न ।

२६. चोभारमा अन्तर्राष्ट्रिय स्तरको सम्मेलन हल बनाउन ।

२७. कीर्तिपुरलाई छुवाछूतमुक्त नगर सहित सुकुम्वासी मुक्त क्षेत्र बनाउन ।

२८. सहकारी पीडितलाई बचत रकम फिर्ता गराउन पहल गर्न ।