सत्तारुढ दल एमालेको मंसिर ७ को जागरण सभाको तयारी कस्तो छ ?
सत्तारुढ दल नेकपा एमालेले आगामी मंसिर ७ गते संघिय राजधानीमा वृहत जागरण सभा गर्ने भएको छ । नेकपा एमालेले मंसीर ७ गते काठमाडौंमा गर्न लागेको जागरण सभा तयारीको लागि सभा संयोजन समिति गठन गरेको छ ।
नेकपा एमाले काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्लाको संयुक्त आयोजनामा मङ्सिर ७ गते काठमाडौंमा हुने जागरण सभाको तयारीका लागि बुधबार बसेको बैठकले ११ सदस्सीय संयोजन समिति गठन गर्ने निर्णय गरेको हो ।
महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा पार्टी केन्द्रीय कार्यालयमा उपत्यका मातहत कमिटी, जनसंगठन र विभागीय प्रमुखको संयुक्त विस्तारित बैठकले सभालाई भव्य र सुव्यवस्थित गर्नको लागि पार्टीको वाग्मती प्रदेश इन्चार्ज डा। राजन भट्टराईको संयोजकत्वमा जागरण सभा संयोजन समिति गठन गरेको छ । समितिको सहसंयोजक जिम्मा पार्टीको वाग्मती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेललाई दिइएको छ ।
समितिका सदस्यहरूमा टुका हमाल, प्रेमकुमार पराजुली, श्यामकुमार बस्नेत, दीपक निरौला, बचन देउजा, पुरुषोत्तम आचार्य, क्षितिज थेबे, शमिक बडाल र जनक चौधरी रहनुभएको छ ।
जागरण सभा संयोजन समितिको बुधबारै बसेको प्रथम बैठकले सभालाई प्रभावकारी बनाउन, जनपरिचालन, जनसभा, जनप्रदर्शन समेतको व्यवस्था मिलाएको समितिका संयोजक डा। भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मुलुकमा बढ्दो अराजकता र अस्थिरताका विरुद्ध लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुशासन, समृद्धि र विकासका लागि विधिको शासन र कानुनी राजका पक्षमा जनमत निर्माण गर्ने उद्देश्यका साथ जागरण सभा गर्न लगाएको उनले बताए । जागरण सभाले पार्टीको दृष्टिकोण र धारणा आमजनताका बिचमा पुर्याउने उद्देश्य लिएको उनको भनाई छ ।