कुनै पनि पाठ चयन गर्नुहोस् र सुन्न आइकनमा क्लिक गर्नुहोस्!

कांग्रेस उपसभापति गुरूङसँग सहकारी ठगीमा सिआइबीले लियाे बयान

मूलखबर संवाददाता
काठमाडौं, २९ कात्तिक

सहकारी ठगीकाे विषयमा आराेप लागेका नेपाली कांग्रेसका उपसभापति तथा प्रतिनिधिसभा सदस्य धनराज गुरूङसँग प्रहरीले बयान लिएको छ ।

प्रहरीले मितेरी सेभिङ एन्ड क्रेडिट कोअपरेटिभको १४ करोड ८१ लाख रुपैयाँ हिनामिनामा मुछिएका गुरुङसँग पहिलो चरणको बयान लिएको हाे ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युुरो (सिआइबी)ले उनीसँग बुधबार बयान लिएको हो । सहकारी ठगी सम्बन्धमा गठित संसदीय विशेष छानबिन समितिले गुरुङलाई छानबिनको दायरामा ल्याउन भनेको थियो ।

सिआइबीले लाजिम्पाटस्थित कार्यालयमै बोलाएर गुरुङसँग पाँच घण्टा बयान लिएको थियो । बयानका लागि गुरुङ बिहान ११ बजे नै कार्यालय पुगेका थिए । बुधबार मध्याह्न १२ बजेदेखि बयान सुरु भएर ५ बजे सकिएको थियो । सिआइबीका प्रवक्ता एसपी होविन्द्र बोगटीले धनराजसँग पाँच घण्टा बयान लिइएको बताए । ‘मितेरी सहकारीमा अपचलन भएको रकमको सम्बन्धमा सिआइबी अनुसन्धानरत छ । सोही क्रममा बुधबार धनराज गुरुङसँग बयान लिइएको छ । मध्याह्न १२ बजेदेखि सुरु बयान साँझ ५ बजेसम्म जारी रह्यो,’ उनले भने । सिआइबीले घटनामा जोडिएका गुरुङकी पूर्वपत्नी ज्योति गुरुङ, सुजन शाक्य, ज्योतिबहादुर भण्डारी, हितमान थापा र प्रकाश थापाविरुद्ध गत ६ असोजमा पक्राउ पुर्जी जारी गरेको थियो । तर, गुरुङविरुद्ध भने पक्राउ पुर्जी जारी भएन । त्यसैले सिआइबीले उनलाई बयान लिएलगत्तै छाडिदिएको छ ।

रास्वपाले आफ्ना सभापति रवि लामिछानेलाई राजनीतिक पुर्वाग्रहका आधारमा पक्राउ गरिएको र त्यस्तै अभियाेग लगाइएका कांग्रेस र एमालेका नेताहरूलाई छाेडिएकाे भन्दै सरकारकाे विराेध गरिरहेकाे छ । त्यसैगरी प्रमुख प्रतिपक्षी दल माओवादीले पनि पक्राउकाे फरक मापदण्ड बनाइएकोमा आपत्ति प्रकट गरेकाे थियाे ।

छान्नुहोस् र सुन्नुहोस्